मंसिर १६, २०७४-प्रदेश २ का प्रहरी प्रमुख एआईजी विजयलाल कायस्थ बिहीबार बिहानैदेखि जिल्ला दौडाहामा थिए । सप्तरी र सिरहामा सुरक्षा ‘ब्रिफिङ’ सकेर शुक्रबार अपराह्न जनकपुर फर्किए । साँझ धनुषामा पनि ‘ब्रिफिङ’ गर्न भ्याए । बाँकी ५ जिल्लाका लागि शनिबार बिहानैदेखि निस्कने भएका छन् ।
‘सुरक्षाका तीनै निकाय संयुक्त र समन्वयात्मक ढंगले परिचालन गरिएको छ,’ उनले भने, ‘निर्वाचनविरोधी तत्त्वहरूको मनोबल खस्किएको पाइएको छ । हामी उच्च सतर्कमा छौं । हाम्रा सुरक्षाकर्मीहरूको मनोबल उच्च छ ।’ उच्च पहाडी र हिमाली क्षेत्रमा पहिलो चरणमा भएका आम निर्वाचनको तुलनामा २१ गते हुने दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौती थपिएको छ । दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हँुदै छ । तीमध्ये २२ जिल्लाको भारतसँग खुला सिमाना छ । बाक्लो ओहोरदोहोर हुने नाकाहरूमा सुरक्षाकर्मीको उपस्थिति रहे ग्रामीण क्षेत्रमा चाहिने मात्रामा सुरक्षाकर्मी परिचालन हुने अवस्था छैन । त्यसलाई ध्यान दिएर सुरक्षा निकायले तालिमप्राप्त कुकुर परिचालन गर्नेदेखि अन्य उपाय लगाएका छन् । प्रदेश २ का सबै जिल्लामा खुला सीमा छ । एआईजी कायस्थ यसलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिन्छन् । ‘वारिपारिका बासिन्दाका अनुहार र भाषा प्राय: मिल्नु अर्को चुनौती हो,’ उनले भने, ‘तर, त्यस्ता चुनौती सामना गर्न हामीले अधिकतम उपाय प्रयोग गरिरहेका छौं । ढुक्कले मतदान गर्न पाउने अवस्था छ ।’
गत आइतबार सिरहामा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि गोली चलाउने व्यक्तिलाई तीन घण्टामै प्रहरीले पक्राउ गरेको थियो । ‘शंका लागेर सिरहाबाट लखेटदै आयौं । गोली हान्ने व्यक्तिले बीचमा मोटरसाइकल
फेरे पनि हाम्रो सुराकले थाहा पायो । तीन घण्टामा धनुषामा पक्राउ गर्न सफल भइयो,’ प्रहरी स्रोतले सुनायो ।
प्रहरीले ठाउँ–ठाउँमा चेक प्वाइन्ट राखेर सुरक्षा जाँचसमेत तीव्र बनाएको छ । सुरक्षा जानकारहरू भन्छन्, निर्वाचन बिथोल्ने समूहले खुला नाकाको सजिलै दुरुपयोग गर्न सक्छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले खुला सिमानाका कारण घुसपैठ र आपराधिक घटना हुन सक्ने अवस्थालाई ध्यान दिँदै सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । ‘भारततर्फबाट भाडाका अपराधी निर्वाचनमा उपयोग गर्न सक्ने हाम्रो विश्लेषण छ,’ चापागाईंले भने, ‘सीमा क्षेत्रमा निगरानी बढाइएको छ । भाडाका अपराधीबाट हुने सम्भावित खतराको पहिचान गरी उच्च सतर्कता अपनाइएको छ ।’
दुवै देशका सुरक्षाकर्मी उच्च सतर्क
खुला सीमा भएका कारण निर्वाचनको समयमा गलत मनसायसाथ व्यक्तिहरू आउन–जान सक्छन् । शान्ति सुव्यवस्था खलल पुर्याउने गतिविधि हुन सक्छन् । मुख्य नाकामा प्रहरी परिचालन गरिए पनि ठूलो संख्यामा हुने ओहोरदोहोरले प्रत्येक व्यक्तिलाई चेकजाँच गर्ने अवस्था पनि छैन । त्यही चुनौती चिर्न पर्सा प्रहरीले बिहीबारदेखि नाकाहरूमा तालिमप्राप्त कुकुर परिचालन गरेको छ । चेकजाँचमा कडाइ गरेको छ ।
निर्वाचन सुरक्षालाई लक्षित गरी गत साता वीरगन्जमा नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो । दुवै देशका सुरक्षा अधिकारीहरूले निर्वाचनमा ‘हाई अलर्ट’ मा रहन सहमति जनाएका थिए । दुवै देशका सुरक्षा अधिकारीहरूको बैठकमा निर्वाचन सुरक्षालाई चुस्त एवं प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।
सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राख्न दुवै देशका सुरक्षा अधिकारीले लिखित सहमति नै गरेका छन् । पर्साका प्रहरी प्रमुख एसपी डा. गणेश रेग्मीका अनुसार निर्वाचन बिथोल्ने समूहमाथि कडा निगरानी बढाइएको छ । विप्लव समूहका भोजपुरा इन्चार्जदेखि जिल्ला स्तरीय १० नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार पार्टीको दस्तावेज, विस्फोटक सामग्रीसहित बिहीबार मात्र एक उच्च नेतालाई नियन्त्रणमा लिइएको छ । ‘सामान्य घटना भए पनि सुरक्षा चुनौती केही छैन,’ उनले कान्तिपुरसँग भने, ‘ढुक्क भएर भोट हाल्ने वातावरण बनाएका छौं ।’
संयुक्त गस्ती
सप्तरी प्रशासनले पछिल्लो समय निर्वाचनलाई ध्यानमा राखी सीमापारिको बिहारका जिल्ला सुपौल र मधुवनीका स्थानीय प्रशासनसित पटक–पटक बैठक गरिसकेको छ । जसमा दुई देशका अधिकारीले चुनावी सुरक्षालाई चुस्त बनाउन सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् । आपराधिक प्रवृत्तिका व्यक्तिहरूबारे सूचना आदानप्रदान गर्ने, बोर्डर सिल गर्ने सहमति भइसकेको छ । यसका अतिरिक्त निर्वाचन अवधिभर अहिले दुवैतर्फका सुरक्षाकर्मीहरूले संयुक्त गस्तीसमेत सञ्चालन गरिरहेका छन् भने सीमा नाकामा अन्य बेलाभन्दा अहिले कडाइका साथ चेकजाँच भइरहेको प्रहरी उपरीक्षक सिंहले जनाए ।
‘आयातीत’ अपराध चुनौती
बिहारमा एक दर्जनभन्दा बढी हत्याका घटनाका आरोपी मुखियाजी भनिने धीरेन्द्र यादवले नेपाल छिरेर २०६५ मा सप्तरीको तोपा र सुनसरीको पश्चिम कुसहा गरी २ स्थानबाट नेपाली नागरिकता लिए । सप्तरी, सुनसरी र सिरहामा घुमघाम गर्दै खुलेआम आतंक फैलाए । उनले राजविराजको मुख्य बजारमा कृषि विकास बैंक राजविराज शाखाका तत्कालीन प्रबन्धक विक्रम साहको दिनदहाडै गोली हानी हत्या गरे । राजविराजमा नाम चलेका डाक्टर मुरलीप्रसाद सिंहको अपहरण गरी १७ लाख फिरौती असुले । अन्य कैयौं व्यापारी र उच्च ओहदाका व्यक्तिसित मोटो रकम चन्दा संकलन गरे । उनलाई सुनसरीको इटहरीबाट पक्राउ गरी काठमाडौं हुँदै झुम्का जेल सारियो । उनी अन्य ११ जनासहित सुरुङ खनेर फरार भए । भारतमा विभिन्न घटनामा आरोपी रहेका सुभाष झा सप्तरी आएर नेपाली नागरिक बने । उनले यहाँ सशस्त्र राजनीति सुरु गरे । ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ को मुक्ति समूहका सप्तरी इञ्चार्ज बनी उनले चन्दा आतंक फैलाए । प्रहरीद्वारा पक्राउ गरिएका उनी पनि झुम्का जेलबाट फरार हुनेको सूचीमा थिए ।
धीरेन्द्र र सुभाष मात्र होइनन्, बिहारका कुख्यात अपराधमा संलग्नहरूले सीमावर्ती मधेसका जिल्लामा आतंक मच्चाइसकेका छन् । निर्वाचनको समयमा एक प्रतिस्पर्धीले अर्को प्रतिस्पर्धीलाई आक्रमण गराउन तथा विभिन्न किसिमको दुस्मनी साँध्न पैसा दिएर आयात गरिने भारतीय अपराधी सधैं यस क्षेत्रको सुरक्षा चुनौती बन्दै आएको छ ।
खुला सीमाका कारण भारतीय आपराधिक प्रवृत्तिका व्यक्तिहरू सहजै नेपाल आउने र यहाँ नेपाली नागरिकता पाउन सक्ने सहजताका कारण उनीहरूले निर्वाचनका बेला सुरक्षा व्यवस्थामा चुनौती बन्न सक्ने खतरा रहँदै आएको छ । खुला सिमाना, भारतीय अपराधीहरूको नेपाली नागरिकसित पारिवारिक सम्बन्ध, पैसा लिएर ज्यान मार्ने, सुपारी लिने तथा नेपाली नागरिकता लिएर नेपालमा खुलेआम बसोबास गरी यहाँको राजनीतिमा चासो लिनेहरू निर्वाचनमा प्रयोग हुन सक्ने भएकाले सीमा सुरक्षा चुनौतीपूर्ण बनेको हो ।
http://kantipur.ekantipur.com/news/2017-12-02/20171202063456.html