काठमाडौं । नेकपाका अध्यक्ष द्वो प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार पार्टी सञ्चाल र माधव नेपालको असन्तुष्टिबारे छलफल भएको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब २ घण्टा लामो छलफल भएको नेकपा श्रोतले जनाएको छ । छलफल दुई अध्यक्षबीच माधव नेपाललाई कसरी फकाउने भन्ने विषयमा छलफल भएको बुझिएको छ । उनीहरुबीच आइतबार पार्टी सचिवालयको बैठक गर्ने विषयमा सहमति भएको बताइएको छ ।
पार्टीका प्रदेश इन्चार्ज र प्रदेश कमिटि गठनमा दुई अध्यक्षले एकलौटी गरेपछि वरिष्ठ नेता नेपाल ओली र प्रचण्ड दुबैसँग असन्तुष्ट छन् । उनले संसदमै सरकारको खरो आलोचना गरेपछि नेता नेपालको असन्तुष्टि सतहमा आएको थियो ।
दुई अध्यक्ष मिलेर आफूलाई पेलेको महशुस गरेका नेपालले सचिवालय नभइ स्थायी समितिको बैठक बोलाउनुपर्ने बताउँदै आएका छन् । उनले ओली र प्रचण्ड विदेशमा भएका बो स्थायी कमिटि सदस्यहरुलाई चियापनमा बोलाएर छलफलसमेत गरेका थिए ।
स्थायी कमिटिमा नेपाल पक्षका नेताहरुको पनि उल्लेख्य उपस्थिति रहेकाले उनी स्थायी कमिटि बैठकको पक्षमा छन् । तर ओली र प्रचण्डले भने स्थायी कमिटिलाई छल्न सचिवालयको बैठक बोलाउने तयारी गरेका हुन् ।
दुई अध्यक्षको पछिल्लो निर्णयले नेता नेपाललाई थप असन्तुष्ट बनाउने उनी पक्षका एक नेताले बताए । सचिवालयमा नेता नेपाललाई समर्थन गर्ने अर्को नेता छैनन् । त्यहाँ उनी एक्लै छन् । ९ सदस्यीय सचिवालयमा दुई अध्यक्ष, नेता नेपाल, अर्का नेता झलनाथ खनाल, महासचिब विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, वामदेव गौतम र रामबहादुर थापा सदस्य छन् ।
सबै अधिकार सचिवालयमा केन्द्रित गरेर दुई अध्यक्षले आफूखुसी निर्णय गरेको नेपाल पक्षको तर्क छ । यो समूह पार्टीमा निर्णय गर्ने अधिकार स्थायी कमिटिलाईमात्र भएको तर्क गर्छ । तर, त्यहाँ धेरै आलोचना हुने र आफू रक्षात्मक बन्नुपर्ने स्थिति भएकाले ओली र प्रचण्डले सचिवालयबाटै आफू अनुकुल निणर्य गर्दै आएका छन् ।
नेता नेपाल अमेरिकामा रहेको बेला सचिवालय बैठकको निणर्यअनुसार भन्दै सातै प्रदेशका पदाधिकारी तोकिएको थियो । सचिवालयको यो निर्णय गलत भएको स्थायी कमिटि सदस्यहरु घनश्याम भुषाल र योगेश भट्टराईले त्यति बेलै बताएका थिए ।
आफूलाई कुनै जानकारी नदिएर एकाएक प्रदेश पदाधिकारी चयन गरिएको भन्दै रन्थिनएका नेता नेपालले संसदमा सरकारको आलोचना प्रतिपक्षले भन्दा कडा रुपमा गरेका थिए । त्यसपछि नेकपामा विवादले चरम रुप लिएको छ ।
दुई अध्यक्षले स्थायी कमिटि बैठक नबोलाई सचिवालय बैठक बोलाएकाले नेकपामा थप विवाद चर्किने सम्भावना रहेको नेकपाका एक नेताले सुनाए ।