काठमाडौं, मंसिर १० – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा बिहान १० बजेसम्ममा २५ प्रतिशत मत खसेको छ ।
आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान सुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ ।पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।