नयाँ शक्ति पार्टीले गोरखा सदरमुकाममा निकालेको विजय जुलुसमा सहभागि बाबुराम भट्टराई।
गोरखा: गोरखा २ कांग्रेसले आफ्नो वर्चस्व दाबी गर्दै आएको र माओवादीले पनि यसअघिका संविधानसभाका दुवै चुनावमा जित हात पारेको ठाउँ। त्यही ठाउँमा पूर्वसहयोद्धाहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ एक-अर्काविरुद्ध चुनावी मैदानमा उत्रिए । भट्टराई जसले सशस्त्र द्वन्द्वमा कांग्रेस सफाया अभियानको नेतृत्व गरे, उनले कांग्रेसकै सहयोगमा चुनाव जिते । एमालेको साथ र समर्थन पाउँदा पनि श्रेष्ठले मैदान छोड्नुपर्यो।
यो चुनावमा दुई शिखर व्यक्तित्व भट्टराई वा श्रेष्ठ ‘कसले जित्ला’ भन्ने बहस ‘हटकेक’ बनेको थियो । भट्टराई र श्रेष्ठले मनोनयन दर्ता गरेदेखि नै जिल्ला, देश-विदेशमा समेत ‘बाजी’ खेलेका थिए । अन्ततः ६ हजार ८ सय ७४ मत अन्तरले श्रेष्ठलाई पछि पार्दै भट्टराईले जित हात पारे । उनले ३१ हजार ८ सय ७ मत ल्याए, श्रेष्ठले २४ हजार ९ सय ३३ मात्रै पाए । पराजयको नजिक पुगेपछि श्रेष्ठले ट्वीट गर्दै भट्टराईलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिए । र, एक सच्चा प्रतिस्पर्धीको परिचयाक बने।
दर्बिलो संगठन र जनाधार हुँदाहँुदै पनि श्रेष्ठले किन बाबुरामलाई पछि पार्न सकेनन् ? बहसको विषय बनेको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज चूडामणि खड्का तर्क गर्छन्, ‘बाबुराम ब्रान्ड’ का कारण श्रेष्ठ पछि परे । ‘गोरखामा मात्र होइन, राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमै बाबुराम ब्रान्ड प्रसिद्ध छ’ खड्का भन्छन्, ‘नारायणकाजी श्रेष्ठले त्यो उचाइ पुर्याउन नसकेर जित्न नसक्नुभएको हो । नयाँ शक्ति र कांगे्रसले मात्रै होइन, माओवादीको भोटले पनि बाबुरामले जितेका हुन् ।’ बाबुराम ब्रान्ड माओवादी छँदै भएको उनको दाबी छ । साथै राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको दबाबले पनि बाबुरामको जित भएको उनले स्वीकार गरे।
अन्तर्घात र एमालेसँगको गठबन्धनको बारेमा भने माओवादीले शंका गरेको छैन । अर्का माओवादी जिल्ला नेता परशुराम रम्तेल श्रेष्ठको हार र बाबुरामको जितमा चार कारण देख्छन् । भन्छन्, ‘पहिलो त बाबुराम ब्रान्डका कारण नै हो । बाबुरामसँग जुध्न कि प्रचण्ड स्वयं उठ्नुपथ्र्यो, त्यो पनि सम्भव भएन । नत्र उनको उचाइसँग मिल्दोजुल्दो उम्मेद्वार दिन सक्नुपथ्र्यो, त्यो पनि हामीले गर्न सकेनौं।’
भूमिगत छँदै बाबुराम ब्रान्ड लोकप्रिय रहेको उनको भनाइ छ । ‘प्रचण्ड भनेको त को हो, को हो ? पछि ज्ञानेन्द्र पो हो कि भन्ने प्रोपोगन्डा गरियो तर बाबुराम भूमिगत छँदै लोकप्रिय थिए, त्यसैले उनले जितेका हुन्’, रम्तेल टिप्पणी गर्छन्।
बाबुरामलाई जिताउन देश-विदेशबाट पहल भएकाले पनि श्रेष्ठ पछि परेको उनको तर्क छ । ‘रोजगारीक्रममा देश-विदेशमा गएकाहरूले बाबुरामलाई जिताउनुपर्छ भन्ने अभियान चलाए । त्यसलाई हामीले समयमै क्रस गर्न सकेनौं’, रम्तेलले भने, ‘तेस्रो कारण हामीले पहिलेजस्तो संगठन सुदृढ गर्न सकेनौं । हाम्रो जनाधार छ तर त्यसलाई व्यवस्थित गर्न सकेनौं । त्यसैले हार खानुपर्यो।’
साथै उनले भट्टराईले माओवादी छोडिसकेको भन्ने सचेतना जनस्तरमा पुर्याउन नसक्दा माओवादीकै भोटले बाबुरामले जितेको पनि दाबी गरे । ‘बाबुरामले नयाँ शक्तिको मात्र भोटले जितेका पनि होइनन्, कांग्रेसको मात्र भोटले जितेका पनि होइनन् । माओवादीको भोटले जितेका हुन् । बाबुराम माओवादी होइनन् भनेर हामीले जरैसम्म पुर्याउन नसक्दा पनि हार खानुपरेको हो’, उनले भने।
तर कांग्रेसले भने इमान्दारीपूर्वक भोट दिएर भट्टराईलाई जिताएको तर्क गरेको छ । त्यसको बदला गोरखा १ मा नयाँशक्तिले धोका दिएको कांग्रेसको तर्क छ । ‘लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भनेर कांग्रेसले इमान्दरीपूर्वक भोट दिएकाले बाबुरामले जितेका हुन्’, कांग्रेसका जिल्ला नेता राजनराज पन्त भन्छन्, ‘नारायणकाजीलाई भोट माग्न पालुङटार आएका केपी ओली र प्रचण्डले कांग्रेसलाई तथानाम गाली गरेपछि बाबुरामलाई जसरी पनि जिताएर प्रतिशोध लिने जोश कांग्रेसमा बढेको थियो।’
ठाउँ-ठाउँमा माओवादीले कांग्रेस कार्यकर्तामाथि धरपकड र दुव्र्यवहार गरेपछि कांग्रेस कार्यकर्ता बाबुरामलाई जसरी पनि जिताउनुपर्छ भनेर लागिपरेकाले बाबुरामले जितेको उनले बताए । ‘नारायणकाजीलाई हराउन माओवादीले नजानिँदो तरिकाले भूमिका खेलेको हो’, उनले तर्क गरे, ‘स्थितिलाई भड्काएर जसरी पनि नारायणकाजीलाई हराउनैपर्छ भन्ने भावना विपक्षीमा माओवादीले नै पैदा गराएको हो।’