बलिउड अभिनेता शशि कपूरको निधन भएको छ । ७९ वर्षिय शशि कपूर लामो समयदेखि विरामी थिए । भारतीय मिडियाका अनुसार, उनको सोमवार दिउँसो निधन भएको हो । शशि कपूर २०११ मा भारत सरकार द्वारा ‘पद्म भूषण’ अवार्डबाट पनि सम्मानित भएका थिए ।
बलिउडमा आफ्नो अब्बल अभिनय र हँसिलो मुस्कानका कारण पनि कपूर निकै फेमस थिए । उनले १९६१ मा ‘धर्मपुत्र’बाट लिड हिरोको रुपमा फिल्ममा पाइला राखेका हुन् । आफ्नो फिल्मी करिअरमा शशि कपूरले ११६ भन्दा बढी फिल्ममा काम गरे, जसमध्ये ६१ फिल्ममा उनले मुख्य भूमिका निर्वाहा गरेका छन् ।
शशिलाई उनको फिल्मका लागि तीन पटक राष्ट्रिय अवार्ड मिलेको थियो । योसँगै उनलाई २०१५ मा ‘दादा साहब फाल्के सम्मान’ पनि दिइएको थियो । शशि कपूरले बलिउडमा कयौं हिट फिल्म दिएका छन् ।
उनले दीवार , शर्मीली, वक्त, जुनून, सुहाग, हसीना मान जाएगी, चोर मचाए शोर जस्ता दर्जनौं हिट फिल्म दिएका छन् । ६० र ७० दशकका चकलेटी हिरो शशिको जन्म १८ मार्च १९३८ मा भएको थियो ।