किशोरी बलात्कार आरोपमा स्थानीय मिठाई पसलका सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल–११ घर भई बनेपा, त्रिभुवनचोकमा अरनिको हाइवे स्विट्स एन्ड चाट हाउस सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाईं पक्राउ परेका हुन् । पीडित किशोरीले दिएको जाहेरीका आधारमा उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।
‘खोटाङ घर भएकी ती किशोरीलाई बनेपा–११ स्थित उनको दिदी भिनाजुको डेरासम्म लगिदिने बहानामा हुमागाईंले आफ्नै कोठामा लगेर आइतबार राति बलात्कार गरेको पीडितले जाहेरी र बयानमा उल्लेख गरेकी छन्’, शाहले भने ।
प्रहरीका अनुसार ती किशोरी केही दिन अघिदेखि हुमागाईंकै पसलमा काम गर्दै आएकी थिइन् । ‘बनेपामा नयाँ भएकीले सधैंजसो भिनाजु आएर साथै लैजाने गरेकामा आइतबार भने हुमागाईंले पु¥याइदिउँला भनेकाले किशोरीका भिनाजु लिन आएका रहेनछन्,’ प्रहरी निरीक्षक शाहले भने, ‘स्कुटरमा लगेर कोठामा पुगेलगत्तै ढोकाको चुकुल लगाएर डरधम्की देखाई जबर्जस्ती करणी गरेका रहेछन् ।’
आइतबार राति ९ बजे बलात्कामा परेकी किशोरी त्यस दिन राति ११ बजेतिर मात्रै उनको दिदी भिनाजुको सम्पर्कमा पुगेकी प्रहरीको भनाइ छ । ती किशोरी र उनका आफन्तले सोमबार मात्रै बनेपा प्रहरीमा हुमागाईंविरुद्ध जबर्जस्ती करणीको अभियोगमा जाहेरी दिएका थिए । सोही दिन हुमागाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार नै काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हुमागाईंबारे थप अनुसन्धान भइरहेको बनेपा प्रहरीले जनाएको छ ।