जनकपुरधाम: प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा चुनावी प्रचारप्रसार अराजक बन्दै गएको छ । दल र उम्मेदवारका एजेन्डाले मतदाता रिझाउनुको साटो प्रतिस्पर्धी उम्मेदवारलाई गाली बेइज्जती र अश्लील तस्बिर पोस्ट गरेर चुनावी प्रचार गरिरहेका छन् ।
निर्वाचन आचारसंहितामा कुनै पनि उम्मेदवारको व्यक्तिगत प्रतिष्ठामा आँच आउने खालका अभिव्यक्तिहरू, गाली बेइज्जती वा अराजक क्रियाकलापहरू सामाजिक सञ्जालमा गर्न नहुने भनिए पनि त्यसको विपरीत दुष्प्रचार भइरहेको छ ।
व्यक्तिगत रिसइबी साँध्नका लागि उम्मेदवारहरू गलत प्रचारबाजीमा लागेको युवा नेता राजु चौधरी बताउँछन् । उनी भन्छन्, ‘आर्थिक प्रलोभनका कारण सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । यस्ता व्यक्तिलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्छ ।’
अभिव्यक्ति स्वतन्त्रता भन्ने बित्तिकै विपक्षी दलका उम्मेदवारलाई लक्ष्य गरी अपशब्द नै प्रयोग गर्नेहरूलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिन्छिन्, अधिकारकर्मी उर्मिला यादव ।
सामाजिक सञ्जाललाई नियन्त्रण गर्न तथा निर्वाचन आचारसंहितालाई पालना गराउन आफूहरूले सक्दो प्रयत्न गरिरहेको मुख्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत जानकीरमण यादवले बताए । उनले भने, ‘आचारसंहिता राजनीतिक दलहरूले नै बनाएका हुन् । त्यसैले यसको पालनामा समेत उनीहरू सबैभन्दा बढी उत्तरदायी हुनुपर्छ ।’