मंसिर २४, २०७४-नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी वाम गठवन्धनका माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ६ सय ८६ मतअन्तरमा पराजित गरेका छन । देउवाले २८ हजार ४४ मत प्राप्त गरेको छन् । उनका निकटतम प्रतिद्वन्द्वी भट्टले २१ हजार ४४ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस डडेल्धुराले अहिले केहीबेरमा विजयी जुलुस निकाल्दै छ । प्रधानमन्त्री देउवा भने यहाँ आउने नआउने कुनै जानकारी भएको छैन । पार्टी सभापति एवं प्रदेश ख बाट विजयी भएका कर्णबहादुर मल्लले जिल्लावासी मतदातालाई धन्यवाद दिन र विजयी जुलुसमा सहभागी गराउन प्रधानमन्त्री देउवालाई डडेल्धुरा बोलाउने प्रयास गरिने बताए ।
जिल्लाको प्रदेशतर्फको मत परिणाम समेत सार्वजनिक भएको छ । कांग्रेसले तीनवटै सिटको दाबी गरेको भए पनि एउटा सिट गुमाउन पुगेको छ । प्रदेश नम्बर क तर्फको प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा निर्वाचित भएका छन् । उनले १३ हजार ५ सय ६५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार ३ सय ९४ मत प्राप्त गरेका छन् ।
कुल ४० हजार ४० मतदाता संख्या रहेको प्रदेश नम्वर क बाट २६ हजार २ सय १५ मत खसेको थियो । जसमध्ये २५ हजार १ सय ७१ मत सदर र १ हजार ४४ मत बदर भएका थिए । प्रदेश ख बाट भने कांग्रेसका उम्मेदवारले नै अग्रता कायम राखेका छन् । प्रदेश ख बाट नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठवन्धनका उम्मेदवार एमालेका ताराप्रसाद जोशी झिनो मतान्तरले पराजित भएका छन् । मल्ले १३ हजार ४ सय १३ मत प्राप्त गरि बिजयी भएका छन् । जोशीले १३ हजार ०५५ मत मात्रै प्राप्त गरेका छन् ।