प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली जिल्ला निर्वाचन कार्यालय झापाबाट सोमबार प्रमाणपत्र लिँदै । तस्बिर: उमाकान्त खनाल
भद्रपुरको मेची रंगशालामा सोमबार आयोजित विजयसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको बाटो आर्थिक समृद्धिको हुने बताए । उनले आफू र आफ्नो गठबन्धन लोकतन्त्रप्रति सधैं प्रतिबद्ध रहने स्पष्ट पार्दै नयाँ सरकारले जनताले खोजेको शान्ति-सुरक्षा यथोचित ढंगले गर्ने बताए । भने, ‘हामीसँग देशलाई कसरी अगाडि बढाउने भन्ने यथोचित एजेन्डा छ । अब देशमा विकासको लहर आउनेछ ।’
उनले यो निर्वाचनले जनताको काम गर्ने प्रतिनिधिलाई मात्र पत्याएको उल्लेख गर्दै शासन सञ्चालनमा जनताको सहभागिता रहने विश्वास दिलाए । प्रशस्त उद्योग सञ्चालन गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्यूनीकरण गर्ने उनको भनाइ थियो । भने, ‘केही समयमा म्यानपावर कम्पनीमा विदेश जाने कोही पनि मान्छे हुँदैनन् ।’
उनले मुलुकलाई विकास र एकताको बाटोमा लैजान स मिलेर जानुको विकल्प नरहेको बताए । भने, ‘हामीले स्वाभाविक विजय हासिल गरेका छौं । जनताले हाम्रो एजेन्डालाई अनुमोदन गरिदिएका छन् । अब हामी प्रतिपक्षलाई सम्मानपूर्ण व्यवहार गर्दै जनताले धेरै वर्षदेखि अपेक्षा गरेको देश विकासको बाटोमा अघि बढ्छौं ।’
उनले एकार्कालाई आरोप र खण्डन गर्ने दिन सकिएको उल्लेख गर्दै अब देशमा स्थिरता कायम हुनेमा विश्वस्त हुन आग्रह गरेका थिए । भने, ‘अब हामी राजनीति होइन, विकासका कुरामा अघि बढ्छौं ।’ उनले जितेर गएका नेताले जनताको हित प्रतिकूल काम गरे आफूलाई रिर्पोट गर्न अनुरोधसमेत गरेका थिए ।
तीन घन्टा नाचिन् ८७ वर्षीया
दमक: ओलीको गृहनगर दमकमा आयोजित विजयसभामा युवायुवतीदेखि वृद्धवृद्धासम्म नाचगानमा झुम्मिएका थिए । ओली झापाका अन्य विजयसभामा सरिक हुँदा आफ्नै क्षेत्रमा भने ढिलो गरी आइपुगेका थिए । विजयसभामा दमक-५ की ८७ वर्षीया फुयाँल लगातार तीन घन्टा नाचेकी थिइन् । उनले नाच्न नरोक्न आग्रह गर्दै भनिन्, ‘म ८० र ७ वर्ष पूरा भएँ तर अझै नि दह्रो छु । हाम्रा ओलीले भत्ता बढाउँछौं भनेका छन् त्यही भएर खुसीले नाचेकी हुँ ।’
दमक-७ की ८१ वर्षीया योगमाया कटुवालले पनि हर्षले नाचेको बताइन् । दिउँसो ३ बजे आउने भनिए पनि ओली लगभग तीन घन्टापछि मात्र सभामा आइपुगेका थिए । उनले जनताले दिएको सर्वाधिक मतको भरपुर सदुपयोग गर्ने बताएका थिए ।