तेह्थुम, मंसिर ११ –सोमबार तेह्रथुमको म्याङलुङ्गमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम–गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधै हिसांको बाटोतर्फ अग्रसर रहने अरोप लगाउनुभयो ।
नेता पौडेलले कम्युनिष्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै कांग्रेसले सधै समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
उहाँले कम्युनिष्ट एकता प्रचण्डको जंगबहादुर बन्ने र ओलीको राजा महेन्द्र बन्ने इच्छाको प्रतिफल भएको आरोप लगाउनुभयो । ‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन’, वरिष्ठ नेता पौडेलले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरुसँग अब नेपाली जनता नझुक्किने धारणा राख्नुभयो । उहाँले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास सम्भव भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गर्नुभयो । नेपाली कांग्रेसले गरीबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वावलम्वन बनाउन चाहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।
कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री एवम् तेह्रथुमबाट प्रतिनिधिसभाकी उम्मेदवार सीता गुरुङले अढाई दशकसम्म जिल्लाको तालाचाबी वामपन्थीको हातमा परेकाले विकास निर्माणमा पछि परेको बताउनुभएको छ । उहाँले जिल्लाको विकास र समृद्धि नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै आफूले समानुपातिकबाट सांसद हुँदा प्रत्यक्ष निर्वाचित भन्दा बढी काम गरेर देखाएको बताउनुभयो ।
प्रत्यक्ष निर्वाचित हुने पुरुष नेताहरुको असहयोगकै कारण जिल्लाको विकासले तिव्रता नलिएको नेतृ गुरुङको दाबी थियो । कांग्रेसको केन्द्रीय सदस्य समेत रहनुभएकी गुरुङले अब जिल्लाको समृद्धिको ढोका कांग्रेसले खोल्ने भन्दै व्यवसायिक कृषि र पर्यटन जिल्लाको समृद्धिका आधारहरु भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांंग्रेसका महासमिति सदस्य तुलसी सुब्बा, पुर्वसांसद गणेश विमली, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फे लगायतले मन्तव्य राख्नुभयो । आम सभा नेपाली कांग्रेस तेह्रथुमका सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाको अध्यक्षता सम्पन्न भएको थियो ।