काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ।
शनिबार राति सामान्य अस्वस्थ भएपछि घरमा आराम गरिरहेका प्रकाशलाई आइतबार बिहान उनका आफन्तले अचेत अवस्थामा फेला पारेका थिए।
सोही अवस्थामा आइतबार बिहान ५ बजे सुरक्षाकर्मी र आफन्तले उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालको आकस्मिक कक्षमा पुर्याएका थिए। अस्पताल पुर्याए लगत्तै चिकत्सिकले उनको मृत्यु भइसकेको बताएका थिए। नर्भिकका डा. जेपी जैसवालले अस्पताल पुर्याउँदा प्रकाशको निधन भइसकेको पुष्टि गरे।
छोरा प्रकाशको निधन लगत्तै पुष्पकमल दाहाल झापाबाट काठमाडौं आएका छन्। प्रकाशको निधन भएको नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले समेत पुष्टि गरिन्। उनले दुखद घटना भएको बताइन्।
अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्याएका दाहाललाई डाक्टरले बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए।अहिले अस्पताल परिसरमा सुरक्षाकर्मी, नेता तथा सर्वसाधारणको भीडभाड बढेको छ।