मंसिर १७, २०७४-नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबिनै नेपालले आइतबार यूएईको अबुधाबीमा केन्यासँग अभ्यास खेल खेल्ने भएको छ । यूएईसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलअघि नेपालको यो अन्तिम अभ्यास खेल हो ।
शुक्रबार पहिलो अभ्यास खेलमा अमेरिकासँग ८९ रनमै अलआउट हुँदै नेपालले ५ विकेटको पराजय भोगेको थियो । पारस र ज्ञानेन्द्रसहित शक्ति गौचन, विनोद भण्डारी र करण केसी अमेरिकासँग खेलेका थिएनन् । केन्याले अमेरिकासँग शनिबार भएको अभ्यास खेल ४ विकेटले जितेको थियो । अमेरिकालाई ६३ रनमा अलआउट गरी केन्याले २३ औं ओभरमा खेल जितेको हो ।प्रशिक्षक जगत टमाटाले नयाँ खेलाडीलाई मौका दिन लगातार दोस्रो खेलमा पनि पारस र ज्ञानेन्द्रलाई नखेलाउन लागिएको जनाएका छन् । १४ सदस्यीय नेपाली टोलीमा दुई अतिरिक्त खेलाडी अनिल शाह र कुशल भुर्तेल पनि रहेका छन् । अन्तिम टोलीमा नरहेका कारण यी दुईले यूएईसँग च्याम्पियनसिपको खेल खेल्ने छैनन् । ‘हामीले पछिको हेरेर अहिले सबै नयाँ खेलाडीलाई मौका दिइरहेका छौं, उनीहरूले पछि यस्तो अभ्यास खेल खेल्ने मौका कमै पाउँछन् । त्यसैले जति हुन्छ उनीहरूलाई मौका दिएका हौं,’ टमाटाले यूएईबाट कान्तिपुरसँग पारस र ज्ञानेन्द्रलाई कुनै चोट नलागेको बताउँदै भने, ‘पछिसम्म टिमलाई बलियो बनाउन नयाँ ओपनरलाई मौका दिइरहेका छौं ।’
नेपाली टिम बुधबार यूएई गएको हो । सोमबारको अभ्यास सत्रमा बलले घुँडामा लागेपछि पारस मंगलबारको फिटनेस सत्रमा ज्ञानेन्द्रसँगै अनुपस्थित थिए । प्रशिक्षक टमाटाका अनुसार दिलीप नाथ र सागर पुनले केन्यासँग नेपालको ब्याटिङ सुरुआत गर्नेछ । चैतमा नेपालले केन्यासँग कीर्तिपुरमा च्याम्पियनसिपको दुई खेल खेलेको थियो । त्यसको पहिलो खेल केन्याले ५ विकेटले जित्यो । दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भयो ।
http://kantipur.ekantipur.com/news/2017-12-03/20171203064602.html