चौतारा : भूकम्पको साढे दुई वर्षको अवधिमा नौ प्रतिशत भूकम्पपीडितले मात्र पुनर्निर्माणको काम सम्पन्न गरेका छन्। घर पुनर्निर्माणको विषयमा अलमलमा रहेका पीडितले पछिल्लो एक वर्षको अवधिमा मात्र घर बनाउन थालेका हुन्।
सहरी विकास तथा भवन डिभिजन कार्यालयको तथ्यांकअनुसार जिल्लामा ६ हजार नौ सय २२ जनाले निजी आवास निर्माणको काम सकेका छन्। तीमध्ये एक सय ८५ जनाले भवन संहिताअनुसार घर नबनाउँदा अनुदान पाउन नसकेको कार्यालयले जनाएको छ। निमित्त डिभिजन प्रमुख टंकप्रसाद गौतमका अनुसार पाँच हजार चार सय ९० जनाले पुनर्निर्माण प्राधिकरणले खटाएको प्राविधिकको सुझावका आधारमा घर निर्माण सम्पन्न गरेका हुन्। एक हजार दुई सय ४७ जनाले आफूखुसी घर निर्माण गरेका थिए।
घर निर्माण सक्नेको संख्या कम भए पनि दसैं-तिहारलगायत चाडपछि पुनर्निर्माणले गति लिएको गौतमले जानकारी दिए। उनका अनुसार कुल लाभग्राहीमध्ये झन्डै २६ प्रतिशतले घर निर्माण सुरु गरेका छन्। पछिल्लो तथ्यांकले पुनर्निर्माणले गति लिन थालेको पुष्टि गर्ने उनको भनाइ छ। गौतमका अनुसार जिल्लाभर २० हजार दुई सय १८ घर निर्माणको काम सुरु भइसकेको छ। ‘यसबाहेक पनि चाँडै निर्माण गर्न सल्लाह लिन आउनेको संख्या पनि उत्तिकै छ’, उनले भने, ‘यसबाट चाँडै पुनर्निर्माणको गति अझ बढ्नेमा आशावादी छौं।’
अघिल्लो वर्षसम्म सुस्त गतिमा रहेको पुनर्निर्माण समयसीमा तोकेपछि गति लिन थालेको प्राधिकरण जिल्ला समन्वय प्रमुख रुद्रहरि मल्लले बताए। निर्धारित मितिमा नभए पनि पुनर्निर्माणको गति तीव्र भएकाले चाँडै सम्पन्न गर्न सकिने विश्वासमा पुगेको मल्लको भनाइ छ। प्राधिकरणले तोकेको संख्यामा प्राविधिक नहुनु अनि दरबन्दी घट्दो रहनुले पनि पुनर्निर्माण प्रभावित भएको गौतमले बताए। ‘प्राधिकरणले तोकेका प्राविधिक ६० प्रतिशत मात्र कार्यरत छन्’, उनले भने, ‘अनुदान पाउन योग्य लाभग्राहीकहाँ प्राविधिक नपुग्दा समस्या हुने गरेको छ।’ पूर्णरूपमा प्राविधिक हुने हो भने पुनर्निर्माणमा अझ सहज हुने उनको ठम्याइ छ।
७८ हजार पाँच सय ३७ परिवारलाई प्राधिकरणले लाभग्राही सूचीमा समावेश गरेकोमा ७४ हजार नौ सय ८९ जनाले अनुदान सम्झौता गरेका छन्। तथ्यांकअनुसार सम्झौता गरेकामध्ये ७३ हजार पाँच सय ५२ जनाले पहिलो किस्ताबापतको ५० हजार लिएका थिए। घर बनाउन थालेका १८ हजारले दोस्रो किस्ता लिइसकेका छन् भने निर्माण सकेकामध्ये तीन हजार पाँच सय २७ जनाले अन्तिम किस्तासमेत लिइसकेका छन्।