काठमाडौं, माघ २८— राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर तथा १९ वर्षमुनि (यु–१९) उमेर समूहका कप्तान सन्दीप लामिछाने विश्वकै उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा पर्न सफल भएका छन्। दुई साता अघि मात्र नेपाली अल्ट्रा धाविका मिरा राईले विश्व प्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीले प्रदान गर्ने ‘एड्भेन्चर अफ दी इयर २०१७’ को उपाधि जितेकी थिइन् । ।
प्रसिद्ध बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले तयार पारेको विश्वभरका उत्कृष्ट युवा खेलाडीहरुको सूचीमा नेपालका सन्दीप पनि परेका छन्।अलआउट क्रिकेटको सूचीमा सन्दीप ३० औं स्थानमा छन्। अलआउटले उनको विवरण आफ्नो वेवसाइटमा राख्दै सन्दीप नेक्स्ट यारिस शाह भएको लेखेको छ।
लेग स्पिन बलिङ गर्ने सन्दीपसँग धेरै ट्रिक्स भएको पनि साइटमा उल्लेख छ।उसले विश्व क्रिकेटमा आफ्नो नाम चिनाइसकेका र प्रभाव पार्न सक्ने २२ वर्ष भन्दा कम उमेरका खेलाडीहरुको सूची तयार पारेको हो।
अष्ट्रेलियन लेजेण्ड स्पिनर शेन वार्नलाई आफ्नो आदर्श मान्ने सन्दीपलाई अर्का अष्ट्रेलियन खेलाडी माइकल क्लार्कलाई प्रभावित गर्न सफल भए। अनी उनै वान डे वर्ल्ड कप विनिङ कप्तानको निमन्त्रणमा अष्ट्रेलियाको प्रिमियर ग्रेड क्रिकेट क्लब वेस्टर्न सबर्बबाट खेले, क्लार्क एकेडेमीमा प्रशिक्षण लिए।‘सन्दीसँग प्रतिभा छ, यसमा कुनै शंका छैन।’ क्लार्कको भनाई उदृत गर्दै अलआउट क्रिकेटले लेखेको छ।
सन्दीपले गत वर्ष बंगलादेशमा भएको यु १९ वर्ल्डकपमा आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिए भने प्रतियोगिताभर १४ विकेट लिदैँ सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहन सफल भएका थिए।
यस्तै अलआउट क्रिकेटले तयार पारेको सूचीको २४ औं स्थानमा अष्ट्रेलियाका बिली स्टानलेके छन्। बिग ब्यासमा अडेलेइड स्ट्राइकरसबाट खेलने २२ वर्षिय स्टानलेके भर्खरै अष्ट्रेलियन टीममा समेत परेका छन्।