पुस २, २०७४ काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै गरिबीमुक्त राष्ट्र बनाउने बताएका छन्। आफ्नै निवास बालकोटमा आइतबार नेपाल उद्योग परिसंघको टोलीसँगको भेटवार्तामा ओलीले उत्पादनशील क्षेत्रमा लगानी बढाएर मुलुकबाट छिट्टै गरिबी हटाउने बताए। अहिले विश्व नै उत्पादन बढाएर गरिबी हटाउने अभियानमा रहेको भन्दै उनले नेपालले पनि सोही बाटोबाट अघि बढनुपर्ने बताए। साथै ओलीले निर्यात् व्यापार प्रबर्द्धन, रोजगारीको अवसर थप सृजना गर्न र मुलुकबाट गरिबी हटाउन लगानी बढाउन जोड दिने पनि बताए। संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न लागि पर्ने उनको प्रतिबद्धता छ। भावी सरकारको नेतृत्व सम्हाल्ने तयारीमा रहेका ओलीले अब बन्ने सरकार देश र जनताप्रति उत्तरदायी हुने बताए। मुलुकलाई आधुनिक र सभ्य बनाउँदै जनताको जिउधनको सुरक्षा गर्ने, सबैलाई न्याय र अवसर प्रदान गर्ने र भयरहित समाज निर्माणमा जुट्ने उनको भनाइ छ। सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले मुलुकलाई समृद्ध बनाउने अध्यक्ष ओलीको सपना पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले मुलुकलाई समृद्ध बनाउने उपयुक्त वातावरण बन्न गएकाले त्यसलाई अवसरको रुपमा लिएर नयाँ सरकारले काम गर्ने विश्वास पनि व्यक्त गरे। उद्योगी व्यवसायीहरुले नयाँ सरकारले लगानीमैत्री वातावरण बनाउने विश्वास पनि व्यक्त गरेका थिए।
Read more at: http://thahakhabar.com/news/28367
Read more at: http://thahakhabar.com/news/28367