काठमाण्डु, ८ माघ – चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
काठमाण्डु जिल्ला अदालतले आइतबार ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरेको छ ।
सुनबहादुरले दुई सयभन्दा बढी चेलीहरुलाई भारतका बेश्यालयहरुमा लगेर बिक्री गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनले दिल्ली र मुम्बईमा बेश्यालयसमेत सञ्चालन गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएका तामाङ दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसको सरकार भएकाले दबाबमा उनलाई धरौटीमा छोड्न लागिएको बताइएको छ ।