
नेपालमा हुवावेले आफ्नो सेवा सुरु गरेको झन्डै २० वर्ष पुग्यो। सुरुको चरणमा हुवावेले इन्टरप्राइज बिजनेसअन्तर्गत नेपालमा टेलिकम नेटवर्कलगायत विभिन्न सेवा विस्तार गर्ने काम गरेको थियो। इन्टरप्राइज बिजनेसमा कम्पनीले पाएको सफलताले कन्जुमर बिजनेसमा पनि हात हालेको हो। मोबाइल फोन, ग्याजेटलगायत विद्युतीय सामग्री लिएर भित्रिएको चार वर्षको अवधिमा कम्पनी यो क्षेत्रको पनि प्रमुख ब्रान्डको रूपमा स्थापित भएको छ।
टूजीबाट थ्रीजी हुँदै फोरजीसम्मको नेटवर्क विस्तारमा काम गरेको कम्पनी नेपालमा कन्जुमर बिजनेसको सम्भावना देखेरै प्रवेश गरको हो। उक्त समयमा यहाँ नेटवर्कको विस्तार तीव्र रूपमा भइरहँदा पनि मोबाइलको पहुँच सोचेअनुसार थिएन। त्यो नै हुवावे नेपालमा आउनुको प्रमुख कारण थियो। आज हुवावेलाई पछ्याउँदै बजारमा थुप्रै ब्रान्ड भित्रिएका छन्। एक सय ७० देशमा आफ्नो सेवा विस्तार गरिसकेको कम्पनीका लागि आज नेपाली बजार पनि महत्वपूर्ण बजार भएको छ।
विश्वमा क्यारियर बिजनेसबाट यात्रा सुरु गरेको कम्पनी आज तिनै बिजनेसमा सफल भएको छ। आज विश्वको कुल जनसंख्याको एक तिहाईले हुवावेको सेवा लिइरहेका छन्। अर्थात विश्वको ३० प्रतिशत मानिसको पहुँचमा हुवावेको नेटवर्क, क्यारियर र कन्जुमर बिजनेस पुगेको छ। विस्तारका क्रममा रहेको हुवावे अहिले विश्वका सबैभन्दा ठूला कम्पनीमध्ये उत्कृष्ट सयभित्र पर्न सफल भयो। ‘फच्र्युन ५००’ ले पछिल्लो पटक सार्वजनिक गरेको ‘फच्र्युन ग्लोबल ५०० लिस्टमा’ हुवावे ८३ नम्बरमा छ। यसका साथै हुवावे सन २०१७ को उत्कृष्ट ग्लोबल ब्रान्डको रूपमा ७०औं नम्बरमा छ। यस क्रममा कम्पनीले कति देशमा आफूलाई उत्कृष्ट कम्पनीको रूपमा पनि स्थापित गरेको छ। चाइनामा हेर्नु हुन्छ भने अहिले हुवावे बजार हिस्साका हिसाबले ठूलो कम्पनीको रूपमा छ।
विश्व बजारमा हेर्ने हो भने हुवावे अहिले तेस्रो स्थानमा छ। सामसङ र आईफोनपछि स्मार्टफोनको बजार हुवावेको कब्जामा छ। आउँदो वर्ष हामी आईफोनलाई पछि पार्दै विश्वको दोस्रो ठूलो ब्रान्डका रूपमा स्थान बन्ने पक्का छ। नेपालको कुरा गर्ने हो भने पक्कै पनि हामी अहिले दोस्रो स्थानमा छौं। सामसङ पहिलो अनि हामी दोस्रो। नेपालमा हाम्रो बजार हिस्सा १५ प्रतिशतभन्दा बढी भइसकेको छ। चार वर्षको अवघिमा नेपाली बजारको १५ प्रतिशत बजार हिस्सालाई कब्जा गर्नु भनेको कुनै पनि कम्पनीका लागि ठूलो सफलता हो। शून्यबाट सुरु भएको यात्रा १५ प्रतिशतमा आएको छ।
मोबाइल फोन, ग्याजेटलगायत विद्युतीय सामग्री लिएर भित्रिएको चार वर्षको अवधिमा हुवावे यो क्षेत्रको पनि प्रमुख ब्रान्डको रूपमा स्थापित भएको छ।
यो क्रममा नेपाली बजारमा हाम्रा कुनै कम्पनीसँग प्रतिस्पर्धा नै भएन। हामीले आफूलाई क्रमबद्धरूपमा विकास गर्दै गयौं। विकास पनि हरेक कोडबाट। ग्राहकलाई दिने सेवामा विकास भएको छ, ग्राहले प्रयोग गर्ने स्मार्टफोनमा ठूलो अन्तर आएको छ। प्रविधिको हिसाबले पनि हरेक ६ महिनामा नयाँ प्रविधिका साथ नयाँ स्मार्टफोन ग्राहकमाझ आएका छन्। यसले हाम्रो बजारलाई विस्तार गर्न र ग्राहकलाई नयाँ प्रविधिसँग जोड्न मद्दत पुगेको छ। ब्रान्डका हिसाबले हेर्ने हो भने पनि पहिले चाइनिज ब्रान्ड भनेर हेरिने हुवावेप्रति अहिले ग्राहकको विश्वास बढेको छ।
जसले गर्दा, हेरक वर्ष हुवावे स्मार्टफोनको बिक्री संख्यामा पनि ठूलो अन्तरले वृद्धि हुँदै गएको छ। त्यसैले अबको दुई वर्षभित्र हामी नेपालमा सबैभन्दा धेरै बजार हिस्सा ओगट्ने कम्पनीको रूपमा स्थापित हुनेछौं। त्यसका लागि अहिले शिखर चढ्न हिड्नेभन्दा पनि शिखर चढ्न आवश्यक पर्ने सामग्रीको तयारी भइरहेको छ। यसको प्रतिफल अबको केही समयमा बजारले देखाउनेछ।
यसका लागि गुणस्तरीय उत्पादनमा कम्पनीले प्राथमिकता दिएको छ। हुवावेले ग्राहकको मन जित्न सक्नुको सबैभन्दा पहिलो कारण गुणस्तरीय उत्पादन नै हो। ग्राहकलाई सन्तुष्टी प्रदान गर्नु अर्को पाटो छ। त्यही सन्तुष्टीले ग्राहकलाई फेरि पनि हुवावे स्मार्टफोन किन्ने बनाएको छ। अहिले नेपालमा एकपटक हुवावे प्रयोग गर्ने ९० प्रतिशत प्रयोगकर्ताले फेरि पनि हुवावे फोन बोक्ने गरेका छन्। यसका विभिन्न कारण छन्। त्यसमा हुवावे फोनको नेटवर्क नेपालमा सबैभन्दा उत्कृष्ट छ। प्रविधिमा पनि आधुनिक छ। स्मार्टफोन ग्राहकमैत्री र प्रयोग गर्न सहज छ।
कम्पनीले हरेक वर्ष क्यामरा, ब्याट्री, स्क्रिन, एन्ड्रोइड भर्जन, स्मार्टफोनको स्पिडलगायत सेवा सुविधामा परिमार्जन गर्दै आएको छ। स्मार्टफोन पनि विभिन्न सिरिजमा छन्। मेट र पी सिरिजका फ्ल्यागसिप स्मार्टफोनमा प्रयोग भएको प्रविधि र क्यामरा विश्वमै सबैभन्दा उत्कृष्ट हो। नोभा सिरिजअन्तर्गत स्मार्टफोनमा क्यामरालाई प्राथमिकता दिइएको छ। भर्खरैमात्र बजारमा भित्रिएको नोभा टूआईमा चारवटा क्यामरा छन्।
त्यस्तै मिड रेन्जमा जी सिरिज र इन्ट्री लेभलमा वाई सिरिजका स्मार्टफोन छन्। जसमा कम्पनीले ब्याट्री, नेटवर्क र प्रविधिलाई प्राथामिकतामा राखेको छ। त्योभन्दा पनि हाम्रा उत्पादनमा समस्या कमै मात्रामा आउँछ। बजार अध्ययनले हुवावेको स्मार्टफोन एक वर्षभित्र बिग्रिएर आउने संख्या अन्य कम्पनीको तुलनामा थोरै भएको देखाएको छ।
कम्पनीले स्मार्टफोन बेच्ने काम मात्र नगरेर ‘आफ्टर सेल्स’ अर्थात बिक्रीपछिको सेवालाई पनि सँगै लगेको छ। ग्राहकलाई स्मार्टफोन खरिदको नयाँ अनुभवका लागि ‘टच एन्ड फिल’ सहितको बिक्री केन्द्र स्थापना गरिएको छ। देशभर सर्भिसका साथै बिक्री केन्द्रको स्थापना गर्ने काम पनि भइरहेको छ। सुन्धाराको सीटीसी मलमा कम्पनीले सञ्चालनमा ल्याएको सर्भिस सेन्टर नेपालकै सबैभन्दा ठूलो हो। जहाँ प्रशिक्षित कर्मचारी कार्यरत छन्। लगानीका हिसाबले पनि हामी लामो यात्रा तय गर्ने गरी काम गरिरहेका छौं।
सीमित समयका लागिमात्र नेपाल हाम्रो बजार नभएकाले ‘लङ टर्म’ लाई हुने गरी आफ्नो बजार विस्तार गर्ने काम भइरहेको छ। त्यसका लागि कम्पनीले आफ्नो सोरुम, सर्भिस सेन्टर विस्तार गर्ने, आफ्नो उत्पादनको गुणस्तरलाई वृद्धि गर्ने, हरेर सेगमेन्टमा उत्पादन वृद्धि गर्दै जानेलगायत काम गरिरहेको छ। क्रमबद्ध रूपमा नेपालमा लगानी पनि थप गरिरहेको छ।
विश्व बजारलाई हेर्ने हो भने पक्कै पनि सामसङ हाम्रा लागि एउटा प्रतिस्पर्धी कम्पनी भन्न सकिन्छ। कतिपय देशका सामसङलाई हामीले पछि पारेका छौं, भने कतिपय देशमा हामी केही तल छौं। तर नेपालमा हामी प्रतिस्पर्धा नै गरिरहेका छैनौं। नेपालमा सबैभन्दा उत्कृष्ट स्मार्टफोन ब्रान्डका रूपमा स्थापित हुने हाम्रो योजना हो। ग्राहकले बेस्ट स्मार्टफोन खोज्दा हुवावेलाई रोज्न सक्ने ब्रान्ड बन्ने योजना छ। त्यसका लागि कम्पनीले नयाँ वर्षको सुरुवातसँगै मेट सिरिजमा मेट १० र मेट १० प्रो स्मार्टफोन सार्वजनिक गर्नेछ। साथै हरेक सेगमेन्टमा ग्राहकलाई स्मार्टफोनको नयाँ अनुभव दिने योजनाका साथ नयाँ÷नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना बनाएको छ।
नोभा २ आई
म नेपालमा आएको एक वर्ष हुन लाग्यो। यो समयमा हुवावेले नेपालमा विभिन्न स्मार्टफोन सार्वजनिक गर्यो। त्यसमध्ये नोभा टू आई अहिलेसम्मकै सफल उत्पादन साबित भएको छ। बिक्रीका आधारमा नोभा टू मेरो सोचाइभन्दा माथि पुगेको छ। एकदिन म कफी पसलमा गएको थिए। टेबलमा राखेको मेरो स्मार्टफोन देखेर कफी पसलको म्यानेजरले यो नोभा टू होइन भनेर सोध्यो। सुरुमा आफैं चकित भए। अनि सोधे कसरी थाहा पाउनुभयो। उनले भने, ‘चार क्यामरा भएको हुवावेको नोभा टू भन्ने थाहा पाएको थिए। नोभा टूको क्रेज त्यहाँसम्म पुगेको छ। जसले प्रतिफल अहिले बजारमा नोभा टूको स्टक नै सकिएको अवस्था छ।
सेल्सको यो क्रमले पनि नोभा टू कस्तो उत्पादन हो भनेर उल्लेख गर्छ। त्यो भन्दा पनि नोभा टू क्यामरा फोन हो। जसमा चारवटा क्यामरा रहेका छन्। जसले कम उज्यालोमा पनि राम्रो फोटो खिच्न मद्दत गर्ने कम्पनीले जनाएको छ। ५.९ इन्च साइजको यो स्मार्टाफोनमा ५.५ इन्चको डिस्प्ले रहेको छ। यो युवा पुस्ता, बिजेनस म्यानलगायत मानिसका लागि लक्षित स्मार्टफोन हो। बजारमा नोभा टूकै रेन्जमा अन्य ब्रान्डका स्मार्टफोन नभएका भने होइन। तर अन्य कम्पनीले नोभा टूकै रेन्जमा स्मार्टफोन ल्याउनु हाम्रा लागि सबैभन्दा फाइदाको कुरा भएको छ। किनभने ग्राहकले स्मार्टफोन किन्दा पक्कै पनि त्यसमा भएको फिचर्सलाई अध्ययन गरेका हुन्छन्। दाजेर हेर्न क्रममा नोभा टूमा अगाडि र पछाडि रहेका चारवटा क्यामरा। स्क्रिन साइज, क्यामरा क्वालिटीले पक्कै पनि ग्राहकलाई नोभा टूमा पैसा लगानी गर्नबाट रोक्दैन। रञ्जनहरि कोइरालासँग भएको कुराकानीमा आधारित