मंसिर १७, २०७४-प्रतिनिधिसभा सदस्यमा जिल्लाको क्षेत्र ४ मा कांग्रेसका महेन्द्र यादव, एमालेका रघुवीर महासेठ र संघीय समाजवादी फोरमका महाजन यादव भिड्दैछन् । जनकपुरसहितको मधेसी बाहुल्य ग्रामीण भेगदेखि पहाडी समुदायको बसोबास रहेको चुरेको फेदसम्म समेटिएको यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
एमाले राजनीतिमा राम्रो पकड बनाएका महासेठ र कांग्रेसका तर्फबाट बहालवाला खानेपानी मन्त्रीसमेत रहेका महेन्द्र यादव र सरकारी प्राविधिकबाट अवकाश लिएका अनुभवी यादवबीचको भिडन्तले मतदातामा रोमाञ्चकता बढाएको हो ।प्रचारप्रसारमा जुटेका महासेठ घरदैलोमा मतदातासँग भेटघाट गर्दै हातमा विकास योजनाको सूची थमाउँछन् । मन्त्री यादव घर–घर पुगेर नमस्कार गर्दै टोलटोलमा चुनावी कोणसभा गर्दै छन् । फोरमका यादव पनि तीव्र प्रचारमा लागेका छन् । क्षेत्र ४ का ३ नगरपालिका र २ गाउँपालिकामध्ये एमालेले २ नगर र १ गाउँपालिकामा जितेको छ । ‘जनकपुर उपमहानगरपालिकासमेत समेटिएको क्षेत्रका मतदाताबाट राम्रै भरोसा प्राप्त भएको छ,’ महासेठले भने, ‘एमाले र माओवादीको गठबन्धन छ । अन्य दलका कार्यकर्ताबाट समेत सकारात्मक सहयोग पाइरहेको छु ।’
महासेठ सिभिल इन्जिनियरिङमा स्नातक हुन् । उनी २०३३ मा तत्कालीन नेकपा मालेको पार्टी सदस्यता प्राप्त गरेर राजनीतिमा होमिएका थिए । २०६४ मा भएको संविधानसभाको चुनावमा धनुषा क्षेत्र ४ बाट पराजित भएका थिए । तर, धनुषा ५ मा भएको उपचुनावमा विजयी भए । २०७० को चुनावमा क्षेत्र ५ बाटै उम्मेदवार बने । तर, परिणाम उनको पक्षमा आएन । उनी झलनाथ खनाल नेतृत्वको सरकारमा सिँचाइमन्त्रीसमेत भएका थिए ।
कांग्रेसका केन्द्रीय सदस्य यादवले भने भारतबाट बीएससी गरी २०३५ को चैतमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । २०६४ र २०७० को चुनावमा समानुपातिकतर्फबाट सभासद बनेका यादव हाल खानेपानी तथा सरसफाइमन्त्री हुन् । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार महाजन यादवले भने इलाहाबाद विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका थिए । सरकारी प्राविधिकबाट अवकाश पाएका यादव २०७१ मा तराई मधेस लोकतान्त्रिक पार्टीबाट राजनीतिक यात्रा थालेका थिए । उनी अहिले संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य छन् ।
http://kantipur.ekantipur.com/news/2017-12-03/20171203063622.html