वीरगन्ज : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा पर्ने पर्साको ठोरी गाउँपालिकालाई चितवनमा गाभेर प्रदेश ३ मा समायोजन गर्ने सम्भावना जीवितै रहेको बताएका छन्।
ठोरीको चौतारामा आइतबार आयोजित बामगठबन्धनको सभालाई सम्बोधन गर्दै दाहालले भने, ‘ठोरीलाई प्रदेश ३ मा समायोजन गर्ने मुद्दा मरिसकेको छैन, अहिले पनि जिवित नै छ। त्यसका लागि दुई तिहाई बहुमतसहितको बामगठबन्धनको सरकार बन्नुपर्छ।’ ठोरीको भूगोललाई प्रदेश नम्बर ३ मा लैजानका लागि संविधान संशोधन आवश्यक हुने भन्दै उनले भने, ‘निर्वाचनपछि नयाँ सरकार गठनसँगै संशोधन प्रक्रिया अघि बढाउँछु।’
देशको वृहत्तर हितका लागि दुई कम्युनिस्ट पार्टीबीच तालमेल भएको भन्दै उनले चुनावपछि एउटै पार्टी निर्माण हुने बताए। ७० वर्षदेखिको अराजकता र अस्थिरताको भूमरीबाट राज्यलाई मुक्त गराउने संकल्पसहित गठबन्धन अघि बढिरहेको उनले दाबी गरे।
चितवन राष्ट्रिय निकुञ्ज वरपरका बासिन्दा वन्यजन्तुबाट प्रताडित बनेको भन्दै उनले वन ऐन २०२९ संशोधन गरिनुपर्ने समेत बताए। अध्यक्ष दाहालले वन्यजन्तुबाट प्रताडित बनेका जनतालाई सम्बोधन गर्न वन ऐन २०२९ संशोधन गर्ने प्रक्रिया पनि नयाँ सरकार गठनसँगै अघि बढाउने आश्वासन दिए।