पूर्णिमाको रात…
एक पागल
घरको छतमा चढी
भर्याङ हाल्दै थियो आकासमा,
सुहागरातकी संगिनीलाई
जुनको टीका लगाइदिन भनी !
ठीक त्यही पल,
कोठाकी बेहुली
चिट्ठी लेख्दै थिइन पूर्व प्रेमीलाई
‘औंशीको रातमा भेटौंला’ भन्दै !
दशैंको टीकाको रात..
काम बाट कोठामा फर्की
एक्लो परदेशी,
टीका मुछेर थालीभरी,
भित्तामा टाँस्दै
टाउको ठोक्दै गर्दो थियो त्यसैमा,
निधार रातो बनाउन !
ठीक त्यही प्रहर गाउँमा
सेतो कोरो बिकेथ्यो
पासाको दोकानमा,
पूरेत शंख लिई
आइपुगेथे आंगनमा
आमाको डोली
अन्तिम पटक उठाउन !
चुनावको रात..
नंगमा कालो कोरिएको औंलाले
शीरमा रातो लगाउँदै थिइन बिधवा !
छाती खोलेर ऐना सामू
ऐलान गर्दै थिइन-
‘सुदिन आउने भए,
मैले रातो लाउने भएँ !’ भन्दै..
ठीक त्यही रात
गणतन्त्रले
उँखुबारीमा टुहुरी छोरी
बलात्कार गरिदियो !
✍️हेमन्त गिरी,टोकियो
(२०१८/०९/२७)