काठमाडौं । निर्देशक विकास आचार्यलाई लाग्छ, मान्छे केवल पात्र मात्रै हौं । उसले चाहेर मात्रै केही हुन्न । जे हुन्छ सबै ‘माथि’बाटै निर्देशित हुन्छ । अर्थशास्त्रको माल्थेसियन सिद्धान्तको धेरैले खिल्ली उडाएको बुझेका थिए, उनले । उनलाई लाग्छ, अहिले विश्वमा माल्थेसियन सिद्धान्त नै लागु हुँदै गएको छ ।
उनको बुझाइ छ, अहिले मान्छेले प्रकृतिलाई पूर्ण नष्ट गर्ने प्रविधिको विकास गरेको छ । प्रकृतिको प्रक्रिया बिगार्नमा मान्छेले अहम् भूमिका निर्वाह गरेको बुझेका छन्, आचार्यले ।
‘धेरै उत्पादन हुन्छ र बिक्री गरेर पैसा कमाउँछु भनेर मान्छेले विषादीको प्रयोग गर्दै खेती गरे,’ आचार्य भन्छन्, ‘विषादीयुक्त घाँस गाईले खान्छ र त्यही गाईले दिएको दूध मैले पनि पिउनुपर्छ भने सोच्दैनन्, मानिस ।’
उनको सार छ, मान्छेले मृत्युको बाटो आफैं बनाउँदै छ ।
हामी सिनेमाका कुरा गर्न गएका थियौं । कुराकानीको प्रारम्भमै उनले जीवनको पाठ पढाउँदै भने, ‘खै म कसरी निर्देशक भएँ आफैंलाई थाहा छैन ।’
निर्देशक बन्नुअघि एकपटक उनले जोगी हुने असफल प्रयास गरेका थिए । उनलाई भौतिक जीवनप्रति दिक्दारी लाग्यो । भौतिक सुख-सविधा केही होइन रहेछ भन्दै वास्तविक जीवनको खोजी थाले ।
डेढ वर्ष उनी ध्यानमा बसे । अधिकांश समय पशुपतिमा बिताउन थाले । चुनचुन बाबा र परमानन्द बाबाको संगतमा परेपछि वास्तविक जीवन जप ध्यानमै भेटे ।
पशुपति परिसर मात्रै होइन, घरमा बस्दा पनि उनी प्रायः ध्यानमै रमाउँथे । उनका दाजु शैलेश आचार्य चल्तीका फिल्मकर्मी थिए । निर्देशक नारायण पुरीसँग खास दोस्ती थियो । निर्देशक पुरी आचार्य परिवारको सदस्यजस्तै थिए । बाक्लै आउजाउ हुन्थ्यो ।
निर्देशक पुरी र शैलेशबीच फिल्मका विषयमा बाक्लै छलफल हुन्थ्यो । त्यही छलफल सुनेर बस्थे, कहिलेकाहीं विकास पनि । निर्देशक पुरी आचार्यलाई बारम्बार भन्ने गर्थे, ‘तपाईंजस्तो मान्छे ध्यान तपस्यामा बसेर हुन्न । आउनुस् यो भौतिक संसारको उपयोग गरौं फिल्म क्षेत्रमा नाम र दाम दुवै छ ।’
निर्देशक पुरीको कुरा होजस्तै लाग्यो, विकासलाई । पुरी चलचित्र ‘दोमन’ बनाउँदै थिए । स्क्रिप्ट लेखनमा बसेका आचार्य सुटिङमा पनि गए । सुटिङमा जाँदा-आउँदा आचार्यले भौतिक सुख-सुविधाको अनुभुति गर्न थाले । अर्को फिल्म ‘मामाघर’मा फुल स्क्रिप्ट लेखनको जिम्मा पाए । आफू निर्देशक बन्नुको श्रेय अहिले पनि पुरीलाई दिन्छन्, उनी ।
आचार्यलाई सम्झना छ । पहिलो फिल्म लेखेवापत ३१ हजार पारिश्रमिक पाएका थिए । पहिलो फिल्मले राम्रै व्यापार गर्यो । पुरीकै निर्देशनमा अर्को फिल्म लेखे ‘कर्तव्य’ । बजारले कर्तव्यलाई पनि हिट भनेपछि पछाडि फर्किनु परेन, उनलाई ।
राम्रो अंक आएपछि सहायक हिरो
४० को दशकमा कीर्तिपुरमा मास्टर्स पढ्दै थिए, आचार्य । नाट्यसंस्था आरोहणबाट केही नाटकमा अभिनय गरिसकेका थिए । सरोज खनाल, आचार्य, पुरन जोशी, कृष्टी मैनाली, सुनिल थापालगायतलाई लिएर कथानक चलचित्र ‘अरुणिमा’ बन्ने भयो । मुख्य भूमिकामा कुरो भएको थियो, उनको ।
हिरो बन्ने तयारीमा लागे । सुटिङ शुरु भएको थिएन । मास्टर्स फस्ट इयरको परिणाम आयो । ‘त्यही परिणामले मेरो हिरो बन्ने सपना तुहाइदियो,’ आचार्यले भने, ‘सोचेभन्दा निकै राम्रो आयो रिजल्ट । फिल्मतिर लागेपछि पढाइ बिथोलिने हो कि भनेर सहायक भूमिका रोजें ।’
उनी आफ्नो डिपार्टमेन्टमा प्रथम भएका थिए भने सिंगो मानविकी संकायमा दोस्रो । उनले पढाइमै केन्दि्रत हुने निर्णय गरे ।
पहिलो दिन नर्भस
नाटक र टेलिफिल्ममा अभिनय गरिसकेकाले अभिनय केही होइनजस्तो लागेको थियो, उनलाई । पहिलो दिन इन्डोर सुटिङ थियो । पुरन जोशी, कृष्टी मैनाली, सुनिल थापा थिए ।
आचार्यले लामै संवाद बोल्नुपर्ने थियो । निर्देशकले एक्सन भने तर आचार्यको वाक्य नै फुटेन, अक्क न बक्क भए । अनुहार रातो पिरो भयो । लगभग एउटै सिनमा नौ टेक खाए । तर, दोस्रो दिनदेखि खासै समस्या भएन ।
निर्देशक बनेको दिन पनि उस्तै समस्या परेको थियो, उनलाई । ‘नसिब आफ्नो’को निर्देशन गर्ने भएपछि सुमन शाहीलाई मुख्य सहायक निर्देशक बनाएका थिए । क्यामेरा र लाइटको प्राविधिक ज्ञान थिएन । प्रविधिमा सघाउने जिम्मा लिएका थिए, शाहीले ।
पहिलो दिनको सुटिङ राखेका थिए, पूरानो बानेश्वरस्थित कुमारी कम्प्लेक्समा । जीवन लुइँटेल, सुब्रत आचार्य, सन्देश र अर्का एक कलाकार गरी चार जनालाई अभिनय गराउनुपर्ने । सुटिङ शुरु हुने बेला भयो, सुमन आइपुगेनन् ।
आचार्यलाई चिटचिट पसिना छुट्यो । सुमन श्रीमती लिन नारायणगढ गएका थिए । उनले थाह पाए, त्यही दिन माओवादीले नारायणगढ बन्द गरेको रहेछ ।
तैपनि, सुमन आइपुग्छन् कि भन्दै १० बजे शुरु हुने सुटिङलाई १२ बजेसम्म लम्व्याए । तर, आइपुगेनन् । अन्तिममा म्यामेरामेन रामशरण उप्रेतीसँग सल्लाह गरे, यो सर्ट यसरी लिनुपर्ने । उनले भनेअनुसार उप्रेतीले खिचे । दिउँसो तीन बजे सुमन आइपुगे । त्यसपछि खास समस्या भएन ।
हचुवामै निर्देशक
दिलकुमार प्यासीका लागि उनले फिल्मको आलेख तयार पारे ‘नसिब’ । निर्माता प्यासी पनि सँगसँगै हुन्थे । एकदिन आचार्य स्त्रिmप्ट सुनाउँदै थिए । प्यासीको आँखाबाट आँशु झर्यो ।
फिल्ममा भएको तीन सिनमा भावविव्हल हुँदै प्यासीले भने, ‘यो फिल्मको निर्देशन पनि तपाईंले नै गर्नुपर्छ ।’
आचार्यले भने, ‘म त लेख्ने मात्रै हो, निर्देशन गर्न सक्दिनँ ।’ स्त्रिmप्ट सुनिसकेपछि खाजा खान भन्दै रेस्टुराँ गए । खाजा खाँदै थिए । प्यासीले खाममा ११ हजार रुपैयाँ राखेर भने, ‘निर्देशनका लागि टोकन मनी लिनुस् ।’
पैसा त लिए तर घर पुगेपछि उनलाई निकै तनाव भयो । किनकि, उनलाई क्यामेरा र लाइटबारे शून्य ज्ञान थियो ।
केही पुस्तक पढे । साथीभाइलाई सोधे । केही जाने तर पनि आत्मविश्वास आएन ।
त्यहीबेला भेट भयो, मुख्य सहायक निर्देशक सुमन शाहीसँग । सहायक निर्देशक उनै बन्ने भए । सुमनबाटै क्यामेरा र लाइटबारेमा धेरै सिके, आचार्यले ।
त्यहीबेला उनले अर्को अनुभव गरे, ‘ज्ञान जोसँग पनि लिन सकिन्छ ।’ आचार्य निर्देशक थिए तर उनले क्यामेरा र लाइटकोे ज्ञान सहायकसँग लिए । भन्छन्, ‘सुमन मेरो क्यामेरा र लाइटका गुरु नै हुन् ।’
यसरी जुर्यो ‘नाइँ नभन्नु ल’
‘नाइँ नभन्नु ल’ उनको विशेष ब्रान्ड बनेको छ । यही नाममा चार सिरिज फिल्म बनाइसके । पाँचौंका लागि स्क्रिप्ट तयार छ । यो नाम पनि उनले बोनसमा पाएका थिए ।
दक्षिणकाली जाने गुम्बामा ‘नसिब आफ्नो’को सुटिङ हुँदै थियो । नृत्य निर्देशक थिए, कविराज गहतराज । गीतको एक अन्तरा थियो, ‘नाइँ नभन्नु ल …’
नृत्यको सुटिङ हेर्दाहेर्दै आचार्यले कविराजलाई भने, ‘अब अर्को सिनेमा नाइँ नभन्नु ल’ नाममा बनाउनु पर्यो । कविराजले पनि भने, ‘गज्जब हुन्छ, एकदमै क्याची छ यो लाइन ।’
कथा पहिल्यै तयार थियो । ‘नाइँ नभन्नु’ नाम राखेर स्त्रिmप्ट तयार गरे र उनै निर्माता प्यासीलाई सुनाए । तर, प्यासीले चासो दिएनन्, ‘फाइट नभएको लभस्टोरी चल्दैन’ भन्दै नाक खुम्च्याए ।
आचार्यलाई नाम औधि मन परेको थियो । उनले आफ्नै साथी विजय सिग्देललाई सुनाए । उनी राजी भए, फिल्ममा लगानी गर्न ।
पहिलो फिल्म बनाउँदासम्म यसको सिरिज बनाउने विषयमा सोचेका थिएनन् । त्यसपछि अर्को फिल्म बनाए, ‘म तिम्रो भैसकें’ ।
सुटिङ हुँदै थियो, एक जनाले काठमाडौंकै सम्पन्न परिवारमा एउटा बालकको मृत्युको कथा सुनाए ।
उक्त कथा चाखले सुने, आचार्यले । बालकको मृत्युको कथा विस्तृत सुनेपछि निर्णय गरे, ‘नाइँ नभन्नु ल-२’ । ३/४ हुँदै अहिले पाँचको तयारीमा छन् । भन्छन्, ‘नौसम्म बनाउने योजनामा छु ।’
अनुभवले नीर शाहलाई थर्काए
‘रिदम’मा अनुभव रेग्मीसँग पहिलो पटक काम गरेका थिए, आचार्यले । आचार्य बाल कलाकारको खोजीमा थिए । भनेजस्तो पात्र भेटेका थिएनन् । एकदिन अरुण रेग्मीसँग भेट भयो । ‘जाऊँ दाइ मेरोमा,’ अरुणको आग्रह मान्दै उनीसँगै गए । अनुभव घरमै थिए ।
अनुभवलाई देख्नेबित्तिकै आचार्यको आँखा लाग्यो र सोधे ‘बाबु, तिमीलाई के के गर्न आउँछ ?’ अनुभवले सलमान खानको ढिंकाचिका गीतमा डान्स गर्न आउँछ भन्दै गरेर देखाए ।
अभिनय गर्छौ त ? अनुभवले गर्छु भने । समस्या के थियो भने उनी अक्षर चिन्दैनथे । फिल्ममा धेरै संवाद थियो ।
‘भरखर साढे तीन वर्षका अनुभवले ती संवाद भन्न सक्दैनन् होला,’ आचार्यको शंकालाई उनकी आमा कविताले निवारण गर्ने भइन्, ‘सबै कुरा म सिकाउँछु तपाई चिन्ता नलिनु ।’
आचार्यले सोचेभन्दा निकै सजिलो भयो सुटिङ । हरेक संवाद जस्ताको तस्तै बोल्दिने । कतिपय कम्पोजिट सर्टमा भने अप्ठयारो पारे । धेरैजसो सिन नीर शाहसँग थियो ।
पूराना कलाकारले कतिपय संवाद स्त्रिmप्टमा लेखिएजस्तो हुबहु भन्दैनन् । मिलाएर बोल्छन् । त्यस्तो अवस्थामा अनुभव टक्क रोकिन्थे र भन्थे, ‘हजुरबाले धेरै बोल्नु भो ।’ नीर शाहले त्यतिबेलै भनेका थिए, ‘यो केटो ज्यादै तीक्ष्ण क्षमताको छ ।
अनुभवलाई हिरोइन चाहियो
आउँदो चैतदेखि ‘नाइँ नभन्नु ल-५’ शुरु हुँदैछ । मुख्य भूमिकामा अनुभव देखिँदैछन् भने उनकी हिरोइनको खोजी जारी छ ।
विज्ञापनकै भाषामा निर्देशक आचार्य भन्छन्, ‘११ वर्षे किशोरीको खोजीमा छौं । क्षमता हुने छोरीका बाबुआमाले सम्पर्क गर्नुहोला ।’
‘हामी कहिल्यै पराधिन भएनौं तर स्वतन्त्र छैनौं
फिल्मी कुराकानी हुँदै गर्दा उनी मुलुकको राजनीतिमा केन्द्रित भए । ‘राजनीतिमा झुटो बोल्नेहरु हाबी भएकाले हामी विकासमा पछि परेका छौं,’ उनले भने ।
उनलाई लाग्छ, ‘हामी कहिल्यै पराधिन भएनौं भन्छौं । तर, हाम्रो मुलुकमा झण्डा गाडिन मात्रै बाँकी भएको हो, हामी कहिल्यै स्वाधिन भएनौं ।’ भविष्यप्रति भने आशावादी छन्, उनी ।
अहिले नेपालमा मात्रै नभएर विश्वमै राजनेताको अभाव भएको महशुस गरेका छन् । पहिलो विश्वयुद्धदेखि दोस्रोसम्मको अवधिमा विश्वमै युगपुरुष जन्मिएको अनुभव छ, उनको । भन्छन्, ‘संसारभर विध्वंस मच्चाउनेहरु मात्रै छन् । साहित्य र सिनेमामा दर्शनको अभाव छ । फेरि राजनेता जन्मिन्छन् ।’
प्राग इतिहास अध्ययनका लागि पाँच वर्ष नर्वे बसेर आए । त्यहाँ ६ महिना हिउँले पुर्छ, ६ महिना मात्रै घाम लाग्छ ।
तर पनि, संसारको राम्रो मुलुक मानिन्छ, नर्वे । यसो हुनुमा त्यहाँका बासिन्दा मिहिनेती भएको उनको बुझाइ छ ।
अल्छिहरुको अवार्ड भयो भने नेपालीले गोल्डमेडल जित्ने उनको बुझाइ छ । नेपाली हुनुमा उनलाई गर्व छ । भन्छन्, ‘हामी पीडामा पनि हाँस्न सक्छौं, जुनसुकै समुदायको सम्मान गर्छौं र मिलेर बस्छौं ।