मंसिर ९, २०७४-
रबर्ट मुगाबेले राजीनामा दिएपछि रिक्त जिम्बावेको राष्ट्रपति पदमा एमर्सन मनाङग्याग्वाले शपथ लिएका छन् । उनले राजधानी हरारेको रंगशालामा ६० हजार जनतामाझ शुक्रबार शपथ लिएका हुन् ।
मनाङग्याग्वालाई प्रधानन्यायाधीश लुक मलाबाले शपथ गराएका हुन् । शपथ ग्रहणलगत्तै गरेको सम्बोधनमा मनाङग्याग्वाले ‘जिम्बावेप्रति इमानदार’ हुने बताए । उनले भने, ‘देशको पुनर्निर्माण गर्ने कार्य मेरो हातमा आएको छ ।’
उनले आफूले राष्ट्रपतिका रूपमा कुनै पनि वर्ण, जातजाति, धर्म तथा राजनीतिक आबद्धताका आधारमा पक्ष नलिई शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाए । मनाङग्याग्वाले भने, ‘म जिम्बावेका जनताको अधिकारको संरक्षण र सम्वद्र्धनका लागि कटिबद्ध छु ।’
उनले पूर्वराष्ट्रपति मुगाबेको प्रशंसा गर्न लामो समय खर्चिए । मनाङग्याग्वाले मुगाबेलाई उनले ‘पिता, परामर्शदाता र राजनीतिक गुरु’ भएको बताए । उनले भने, ‘मुगाबेले राष्ट्रिय स्वतन्त्रताको नेतृत्व गरे । उनले अप्ठयारो परिस्थितिमा जिम्मेवारी निर्वाह गरेका छन् ।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई रबर्ट मुगाबेको ३७ वर्षीय शासनको ‘नाटकीय अन्त्य’ भएको जनाएका छन् । शपथ ग्रहण समारोहमा पूर्वराष्ट्रपति मुगाबे भने उपस्थित थिएनन् । अधिकारीले उनलाई ९३ वर्षको उमेरमा आरामको आवश्यकता पर्ने भन्दै कार्यक्रममा उपस्थित नगराइएको जनाए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मनाङग्याग्वाले मुगाबेलाई कडा सुरक्षा प्रदान गर्न आग्रह गरेको जनाएका छन् । मुगाबेले मनाङग्याग्वालाई कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि पटकपटक राष्ट्रपति पदका आकांक्षी बनेका प्रतिपक्ष दलका नेताहरू मोर्गन चाङिगराई र जोइस मुजुरु भने उपस्थित थिए । हरारेको राष्ट्रिय खेलकुद रंगशालमा आयोजित शपथ ग्रहण समारोहमा अफ्रिकी देशका विभिन्न नेता तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
मनाङग्याग्वाले शपथ लिएसँगै उपस्थित सर्वसाधारणले खुसीयाली मनाएका थिए । कार्यक्रममा समारोहमा विभिन्न सांगीतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरिएका थिए । ७५ वर्षीय मनाङग्याग्वा यसअघि जिम्बावेको उपराष्ट्रपति थिए । उनी गतबुधबार निर्वासनबाट जिम्बावे फर्केका हुन् । मुगाबेले आफ्नी श्रीमतीलाई राष्ट्रपति बनाउने कदम स्वरूप मनाङग्याग्वालाई गतमहिना बर्खास्त गरेपछि भागेर दक्षिण अफ्रिका पुगेका थिए ।
त्यसको प्रतिक्रियामा गतसाता सेनाले शासन सत्ता हातमा लिएपछि मुगाबे अप्ठयारोमा परेका हुन् । उनीविरुद्ध गतबुधबार संसद्मा महाअभियोग प्रस्ताव पेस भएपछि मुगाबे राजीनामा दिन बाध्य भएका थिए । विपक्षीले मनाङग्याग्वालाई देशमा व्याप्त ‘भ्रष्टाचार संस्कृति’ अन्त्य गर्न आग्रह गरेका छन् । यसअघि खासै शासन सत्तामा नरहे पनि उनलाई १९८० मा जिम्बावे स्वतन्त्र भएपछिका कतिपय घटनाका लागि जिम्मेवार ठानिने गरिन्छ । उनी स्वतन्तत्रायताका ३७ वर्ष सरकार, पार्टी तथा संसदको नेतृत्वमा रहेका थिए ।
जानु–पीएफ पार्टीको नेतृत्व तहमा रहेका मनाङग्याग्वा १९८० को दशकमा भएको गृहयुद्धमा प्रमुख जासुस थिए । उक्त गृहयुद्धका कारण जिम्बावेमा करिब २० हजार मानिसको मृत्यु भएको थियो । तर मनाङग्याग्वाले भने उक्त नरसंहार सेनाले गरेको र आफ्नो कुनै भूमिका नरहेको दाबी गर्दै आएका छन् ।