चितवन : चितवनमा निर्वाचनविरोधी तत्वहरुले नक्कली बम राखेर तर्साउने गरेको भन्दै स्थानिय प्रशासनले सर्वसाधारणलाई शान्ति सुरक्षा चुस्त रहेको जनाएको छ। भोलि हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो। ‘करिव करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए, प्रहरी उपरीक्षक थापाले भने, सबै नक्कली मात्रै भेटिएका छन्।’ उहाँका अनुसार अहिलेसम्म राखिएकामा तीन वटा स्थानमा केही बारुदहरु रहेको पाइए पनि ठूलो क्षति गर्ने खालको नभएको जनाईएको छ। बम भनेर सर्वसाधारणलाई तर्साउन खोजिएको भन्दै चितवन प्रहरीले शान्ति सुरक्षा चुस्त रहेकाले निर्वाध रुपमा निर्वाचनमा भाग लिने वातावरण मिलाएको थापाले बताए। मुख्य गरी विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुले तर्साउने गरेको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि नेपाली सेना, ससस्त्र प्रहरी र जनपद प्रहरीको ‘स्पेशल अपरेशन टिम’ परिचालन भएको उहाँले बताउनुभयो। प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म करिव १ दर्जन ठाउँमा यस्ता शंकास्पद गतिवधि फेला परेको थियो। त्यसमध्ये केही ठाउँमा मात्रै बारुदहरु सहित राखिएको भएपनि अन्य ठाउँमा नक्कली (होक्स बम) पाईएको छ। अन्य क्षेत्रमा कहिं घरकै सिलिण्डर लगेर जलाईएको, कहिं माटो, ढुंगा भरेर राखिएको, बम जस्तो बनाएर बेरेर राखिएको मात्रै पाईएको प्रहरीको भनाई छ। यस्ता गतिविधि राप्ती नगरपालिकामा २ स्थानमा, खैरहनीमा २ ठाउँमा, रत्ननगर र कालिका नगरपालिकामा एवं माडी तथा भरतपुर क्षेत्रमा पाईएको प्रहरीले जनाएको छ। ३,४ स्थानमा घरबाटै सिलिण्डर लगेर आगो लगाएको भन्दै उनले सिलिण्डरमा आगो लगाएपछि पड्किनु स्वभाविक भएको भन्दै त्यही पनि खुला क्षेत्रमा देखिएको बताए। प्रहरीको विशेष टोलीले अहिलेसम्म शंकास्पद २०० स्थानमा खोजी गरेको केही ठाउँबाट सामान्य विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने अन्य सामाग्रीहरु बरामद गरिएको छ। अहिलेसम्म यस्ता गतिविधि गर्ने २६ सहित अपराधिक क्रियाकलापमा लाग्ने ४६ जना नियन्त्रणमा लिईएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए। यता जिल्ला निर्वाचन कार्यालय चितवनले मतदान अधिकृतहरुलाई फिल्डमा खटाएर आज विहानैदेखि बुथ निर्माणको काम तिब्र पारिएको जनाएको छ।
Read more at: http://thahakhabar.com/news/27675
Read more at: http://thahakhabar.com/news/27675