घोराही । घोराही सिमेन्ट उद्योगले धुलो मापन यन्त्र जडान गरेको छ । सो उद्योगले अत्यधिक धुलो उडाएको भनी उजुरी परेपछि वातावरण विभागबाट प्रदूषण जाँचका लागि प्राविधिक टोली आई धुलो मापन यन्त्र जडान गरेको हो ।
स्थानीयवासीले मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा उजुरी दिएका थिए । सो आयोगले वन तथा वातावरण मन्त्रालयमा पत्र पठाएलगत्तै मन्त्रालयले प्राविधिक टोली धुलो मापन यन्त्र जडान गर्न पठाएको थियो।
प्राविधिक टोलीले उद्योगबाट निस्केको धुलोको मापन थालेको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिए। सो टोलीले प्रदेश सरकार, घोराही उपमहानगरपालिका र धुलो प्रभावित क्षेत्रका नागरिकसँग सहकार्य र समन्वय गरी धुलो सङ्कलनका लागि उपकरण जडान गरेको हो । “प्रदूषण भए÷नभएको जाँच गर्न नमूना सङ्कलन गरी मङ्सिर पहिलो साता भित्र रिपोर्ट सार्वजनिक गरिनेछ,” वातावरण निरीक्षक पौडेलले भने ।
अठार करोड लगानी
कृषि क्षेत्रमा पछिल्लो चार वर्षमा समूह तथा सरकारीमार्फत करीब रु १८ करोड लगानी भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनामार्फत जिल्लाका ७८ उपआयोजनामा सो लगानी गरिएको अनुगमन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए।
शर्माका अनुसार २४ समूह, ३६ सहकारी उद्यमी, २१ प्रशोधन तथा बजारीकरण आयोजनामा लगानी गरिएको छ । आयोजनाले फलफूलतर्फ केरा र मेवा, कृषि उत्पादनतर्फ मह, च्याउ, आलु, मसला, अदुवा र बेसार खेती तथा ती कृषि उपजको बजारीकरणका लागि पूरक अनुदानका रुपमा लगानी गरेको छ । आयोजनबाट पाँच हजारभन्दा बढी किसान व्यावसायिक बनेको शर्माको भनाइ छ ।
कार्यक्रमको स्वरुपअनुसार रु तीन लाखदेखि तीन करोडसम्म ती आयोजनामा लगानी गरिएको छ । “आयोजनामार्फत अर्को वर्षका लागि २० समूहमार्फत दुई करोड बराबरको कार्यक्रमका लागि सम्झौता भइसकेको छ । नौ सहकारीका लागि रु एक करोड ५० लाखको सम्भौता प्रक्रियामा रहेको छ,” शर्माले भने ।