मंसिर १७, २०७४-प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन । विस्फोट र बम रहेको हल्ला फैलाउने समुहलाई ‘निर्वाचन विरोधी तत्व’ का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले संत्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।
उच्च सुरक्षा अधिकारीका अनुसार गृहले विस्फोटका घटनालाई सामुहिक कामको उपज भन्दा पनि व्यक्ती केन्द्रित घटनाका रुपमा हेर्न सुरक्षा निकायलाई सुझाइरहेको छ । ती अधिकारीले विप्लव माओवादीलाई हेर्ने गृहको स्पष्ट नीतिको अभावमा विस्फोटका घटना भइरहेको बताए । गृहको समेत जिम्मेबारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीस्थित विमानस्थलमा शनिबार पत्रकार सम्मेलनमा बोल्दै ‘निर्वाचन केन्द्रित अराजक तत्व’ले देशका विभिन्न स्थानमा गराइरहेका विस्फोटका घटना निन्दनिय रहेको बताए । प्रधानमन्त्रीले पनि विस्फोटका घटनामा विप्लव माओवादीको संग्लनताबारे केही बोलेनन् ।
उच्च सुरक्षा अधिकारीका अनुसार बैठकमा विप्लव माओवादीका ठुला नेता कहाँ छन भन्नेबारे पनि प्रसंग उठेको थियो । स्रोतका अनुसार त्यस्तो प्रसंगमा प्रहरी महानिरिक्षक प्रकाश अर्यालले विप्लवका नेता भुमिगत भएको बताएका थिए । घटनाबारे विप्लव नेतृत्वले जिम्मा नलिएसम्म उक्त पार्टीलाई मुछ्ने तयारीमा गृह मन्त्रालय देखिन्न ।
विप्लव नेतृत्वको नेकपा माओवादीले एक पछि अर्को विस्फोटका घटना गराइरहेको बारे सुरक्षा निकाय जानकार नभएको होइन । तर प्रधानमन्त्रीको नेतृत्वमा रहेको गृहले विप्लव माओवादीलाई कसरी हेर्ने भन्नेबारे सुरक्षा निकायलाई कुनै निर्देशन दिएको छैन् । गृह (प्रधान) मन्त्रीको प्रत्यक्ष नीति र निर्देशन अभाव मन्त्रालयले खप्नु परेको प्रमाणका रुपमा श्रृखलाबद्ध विस्फोटका घटनापछि पनि मन्त्रालयको कार्यशैलीमा कुनै बदलाव नआउनुको तथ्यलाई अघि सार्छन् । मन्त्रालयमा सुरक्षा समिति र केन्द्रिय कमाण्ड पोस्टको निरन्तर बैठक बसी रहेछ, तर त्यस्ता बैठकले घटनाको समिक्षाबाहेक कुनै नयाँ रणनीति तय गर्न सकेको देखिदैन ।
शनिबारको बैठकपछि गृह प्रवक्ता दुवाडीले निर्वाचन विरोधी गतिविधी नियन्त्रण गर्न कडा सुरक्षा प्रबन्ध गरिएको दाबी गरे । गृह सचिव मोहनकृष्ण सापकोटाले पनि साताअघिको पत्रकार सम्मेलनमा दुवाडीले जस्तै सुरक्षा व्यवस्था कडा पारिएको दाबी गरेका थिए । गृह सचिवको त्यस्तो दावीलगत्तै एक सातामा करिब दुई दर्जन विस्फोट भइसकेका छन । दाङमा प्रधानमन्त्री शेरबहादुर देउवा लक्षित विस्फोटमा एक म्यादी प्रहरीको मृत्युपछि पनि गृहले सुरक्षा कडा पारिएको शब्दावली समेटेर गत बुधबार विज्ञप्ती जारी गरेको थियो । विज्ञप्तीमा समेत निर्वाचन विरोधी आपराधिक गतिवधी भन्ने शब्द प्रयोग गरिए पनि त्यस्तो गतिविधी गर्ने को थिए र कसको निर्देशनमा भईरहेको छ भन्नेबारे केही उल्लेख गरिएन ।
प्रहरीले लगातारजसो विप्लव माओवादीले घटना गराएको बताईरहँदा पनि गृहले यसबारे मुख खोलेको छैन् । नेपाल प्रहरीका पुर्व डिआईजी हेमन्त मल्ल विस्फोटका घटना कसले र किन घटाईरहेको छ भन्नेबारे सरकारको प्रस्ट धारणाको खाँचो देख्छन् । ‘गृहले प्रस्ट धारणा सार्वजनिक नगर्दा सुरक्षा निकायलाई आवश्यक कारबाही गर्न अप्ठ्यारो पर्न सक्छ’ उनले भने, ‘यतिका धेरै विस्फोट हुँदा पनि मन्त्रालयले भन्न हिचकिचाइरहेको छ ।’
एक पछि अर्को विष्फोट भइरहँदा पनि संग्लनको पहिचान र पक्राउ गर्न सुरक्षा निकाय चुकिरहेको छ । शुक्रबार साँझ कुपण्डोल क्षेत्रमा भएको विस्फोट कस्तो प्रकृतीको थियो र त्यसमा संग्लन को थियो भन्नेबारे प्रहरीसँग कुनै स्पष्ट सुचना छैन् । प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरका अनुसार कस्तो प्रकृतीको विस्फोट भन्नेबारे केही यकिन गर्न सकिएको छैन । एसएसपी ऐर घटनामा संग्लनबारे केही सुराकी नमिले पनि विस्फोट विप्लव माओवादीले नै गरेको हुनसक्ने बताउन भने चुक्दैनन् ।
शुक्रबार राती बुढानिलकन्ठस्थित प्रधानमन्त्री निवासकै कम्पाउण्ड बाहिर भएको प्रेसर कुकर बम विस्फोटको घटनामा संलग्नताबारे पनि प्रहरी प्रशासन ‘अनभिज्ञ’ छ । घटनाको चौबिस घन्टासम्म पनि प्रहरीले प्रेसकुकर कसले राखेके थियो भन्नेबारे मेसो पाउन सकेको छैन् । शसस्त्र प्रहरीका १५ जनाको चौबीस घन्टा सुरक्षा रहने क्षेत्रमा भएको विस्फोट कसले गरायो भन्नेबारे प्रहरीसँग ‘अज्ञात समुहले’ भन्नेबाहेक उत्तर छैन । महाराजगन्ज प्रहरी वृत्तका डिएसपी योगेन्द्र थापाले घटनासँग सम्बन्धित कोही पक्राउ नपरेको बताए । ‘कसले गरायो भन्नेबारे यकिन भन्न सकिने अवस्था छैन्’, उनको जवाफ थियो ।
‘भाडाका मान्छेहरु प्रयोग’
स्रोतका अनुसार प्रहरीले विप्लव माओवादीका सक्रिय कार्यकर्ता समात्ने र निगरानी बढाउने गरेपछि ‘भाडाका मान्छेहरु’ परिचालन गरेर विस्फोटका घटना गराउन थालिएको छ । गृहमा शनिबार बसेको बैठकमा पनि यसबारे कुरा उठेको थियो । सुरक्षा निकायले निगरानी बढाएपछि विप्लव माओवादीले केही रकम दिएर भाडाका मान्छेलाई विस्फोट गराउने र त्रास फैलाउने काममा प्रयोग गरिरहेको सूचना प्रहरीले पाएको छ । तर संग्लनलाई पक्राउ गर्न सकेको छैन ।
विप्लव माओवादीलाई राजनीतिक शक्तीका रुपमा हेर्ने कि विद्रोही शक्तिका रुपमा हेर्ने भन्ने अन्यौलका बीच नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निर्वाचन सुरक्षालाई निरन्तरता दिइरहेका छन । विप्लव माओवादीका केन्द्रिय स्तरका नेताहरु पक्राउ गर्न सकियो भने विस्फोटका घटनामा कमी हुने प्रहरीले आँकलन गरे पनि गृहबाट स्पष्ट निर्देशन आउन नसक्दा उक्त रणनीति अघि बढन सकेको छैन । ‘गृह मन्त्रीको अभावमा सुरक्षा समितिको बैठकले विद्यमान सुरक्षा रणनीति फेरबदल गर्ने वा कडा सुरक्षा रणनीति अख्तियार गर्ने काम समेत गर्न सकेको छैन्’, स्रोतले भन्यो ।
गृहले निरन्तर सुरक्षा व्यवस्था कडा पारिएको बताइरहँदा शुक्रबार राजधानी श्रृखलाबद्ध विस्फोट र बम रहेको हल्लाले त्रसित बन्यो । यस्तो क्रम शनिबार पनि राजधानी लगायत देशका कैयन जिल्लामा जारी रह्यो । शनिबार भक्तपुरको मध्यपुरथिमी नगरपालिका ४ मा बम भेटिएको हल्लाले घन्टौंसम्म बातावरण त्रस्त रह्यो । खतरा लेखेर राखिएको शंकास्पद पोकोभीत्र बम रहेको आशंका गरिएको थियो, जसलाई नेपाली सेनाले चार घन्टा लगाएर डिस्पोज गरेको थियो । त्यस्तै ललितपुरको चापागाउँको प्याङगाउँमा पनि बम रहेको हल्ला चल्यो । पूर्व डिआईजी हेमन्त मल्लले परम्परागत हिसाबकै सुरक्षा नीतिलाई अख्तियार गरिरहँदा समस्या देखिएको बताए ।