पोखरा : सस्तो मूल्यमा सामान दिन्छु भन्दै पोखराका उपभोक्ताबाट करोड रुपैयाँभन्दा बढी संकलन गरी भारतीय व्यापारी भागेका छन् । कास्कीको मुख्य बजार पोखराको सिमलचौरमा अक्सिजन ट्रेडर्स सञ्चालन गरेका भारतको तामिलनाडुस्थित त्रिचरापल्लीका ५३ वर्षीय मथरमण केले पोखरेलीबाट करोड रुपैयाँभन्दा बढी रकम अग्रिम उठाएर फरार भएका हुन् ।
मथरमणसँगै उनका व्यापार साझेदार भारतका टी मुथु, गुमानन्द धावर र राजेन्द्र थाङ्वेल पनि फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । भारतीय व्यवसायीले गत कात्तिक ३० देखि वासिङ मेसिन, फ्रिज, प्रेसर कुकुर, दराज, पलङलगायत सामान बजारमा प्रचलित मूल्यभन्दा ४५ देखि ५० प्रतिशतसम्म छुट दिएर उपभोक्तालाई लोभ्याएका थिए । ग्राहक आकर्षण गर्न सस्तो मूल्यमा सामान बिक्री गर्दै आएका उनीहरूले १५ दिनको भाका राखेर अग्रिम पैसा बुझेर सामान बुक गर्दै आएका थिए ।
सस्तो सामान पाइने लोभमा सामान बुक गर्न अक्सिजन ट्रेडर्समा अग्रिम पैसा बुझाउन सयौंको भीड लागेपछि कास्की प्रहरीले मंसिर २० गते भारतीय व्यापारी मथरमण के र उनका साथीलाई पक्राउ गरेर चार दिनसम्म अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले बताए । कर कार्यालय र महानगरपालिकामा दर्ता भई कानुनी रूपमा व्यापार सञ्चालन गरेका भारतीय व्यापारीविरुद्ध ठगी धन्दा गरेको किटानी जाहेरी नआएपछि कास्की प्रहरीले बाध्य भएर उनीहरूलाई छाड्नु परेको बताइएको छ ।
स्थानीय ५९ जना उपभाक्ताले ग्राहकलाई सेवा दिने उद्देश्यले सुपथ मूल्यमा सामान बिक्री गर्दा कास्की प्रहरीले हस्तक्षेप गरेको भन्दै व्यापारीलाई छाड्न दबाबसमेत दिएकाले ठग्ने उद्देश्य हो भन्ने थाहा हुँदाहुँदै पनि छाड्नुपरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख सिहंले जानकारी दिए । भागेका भारतीय व्यवसायीको खोजी भइरहेको कास्की प्रहरीले बताएको छ । कति उपभोक्ताबाट कति रकम ठगी भएको छ भन्नेबारे अनुसन्धान भइरहेको र कम्तीमा एक करोड हाराहारीमा ठगी भएको हुन सक्ने उनको भनाइ छ ।
सस्तो पाइने लोभमा ६६ हजार रुपैयाँ डुबेको पोखरा पस्र्याङकी मीनाकुमारी गौतमले बताइन् । ४५ देखि ५० प्रतिशतसम्म छुटमा सामान पाइने लेखेको पर्चा देखेपछि ट्रेडर्समा बुझ्न जाँदा १५ दिनअघि पैसा बुझाएकाले सामान लगेको देखेपछि फ्रिज, वासिङ मेसिन, दराज र किचन आइटम अर्डर गर्न ६६ हजार रुपैयाँ बुझाएको उनको भनाइ छ ।
पोखरा २८ मास्टनका दिनेश तिवारीले सस्तोमा सामान पाइने भएपछि बिभिन्न किसिमका सामान किन्न ९५ हजार रुपैयाँ बुझाएको जानकारी दिए । उनी मात्र होइन, पोखरा ८ सिमालचौरकी विनीता ढकालले २२ हजार र सिमलचौरकै सरिता थापाले १३ हजार रुपैयाँ बुझाएर आइतबार सामान लिने मिति थियो । तर आइतबार बन्द भएकाले सोमबार आउँदा भारतीय व्यवसायी भागिसकेको उनले बताए । त्यहीँ काम गर्ने कामदार पनि व्यापारीबाट ठगिएका छन् । २५ दिनदेखि काम गरेकी लक्ष्मी चोखालले सामान अर्डर गर्न बुझाएको १२ हजार रुपैयाँ उल्टो ठगिएको सुनाइन् ।
दैनिक सयौं ग्राहकले सामान अर्डर गर्न आउने भएकाले हजार जनाभन्दा बढी ठगिएको हुन सक्ने बिल काट्ने काम गर्दै आएकी प्रतीक्षा घलेले जानकारी दिइन् । उपभोक्तालाई अग्रिम पैसा नबुझाउन पटकपटक आग्रह गरे पनि नामन्दा ठगिएको पोखरा लेखनाथ महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले बताए । ठगी गर्ने नियत देखेपछि थप कानुनी प्रक्रिया अघि बढाउँदै गर्दा भारतीय व्यापारी भागेको पनि उनको भनाइ छ ।
साक्षर जिल्ला घोषणा भएको कास्कीको मुख्य बजार क्षेत्रमै विभिन्न प्रलोभनमा परेर ठगिने घटना बढ्दै गएका छन् । केही महिनाअघि पोखराको सिमलचौरमै १५ वर्षदेखि किराना पसल गर्दै आएका आशास सुरेका (भारतीय नागरिक)ले धेरै ब्याज दिने नाममा पैसा उठाएर करोडौं रुपैयाँ ठगी गरेर फरार भएका थिए ।