काठमाडौँ । सोमबार विहान ९ बजे काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गतको चण्डोल गिताञ्जली मार्गमा पुग्दा ‘मै पनि एमाले, सही पनि एमाले’ चुनावी गीत घन्किरहेको थियो । केहि व्यक्ति एमाले र माओवादी केन्द्रको चुनाव चिन्ह अंकित झण्डासहित बाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेललाई जिताउन चुनावी प्रचारमा थिए ।
एमालेका महासचिव ईश्वर पोखरेल, काङ्ग्रेसका नेता प्रकाशशरण महत र विवेकशिल साझाका संयोजक उज्जवल थापा चुनावी मैदानमा भएकोले काठमाडौं क्षेत्र नम्वर ५ ले धेरैको ध्यान पनि खिचेको छ । एमालेका प्रभावशाली नेता पोखरेल विगतको हारलाई उल्टाउने प्रयत्नमा छन् । गत निर्वाचनमा नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यसंगको पराजय बेहोरेका पोखेरेल आसन्न निर्वाचनमा जित निकाल्ने सुरमा छन् ।
चुनावी प्रचारका लागि घरदैलोलाई प्राथमिकता दिएका पोखरेलको विहानी प्रचारको गति तीव्र थियो । पाइला छिटो छिटो चालेका उनी अलि हतारमा पनि देखिन्थे ।
चुनावी प्रचारका क्रममा गिताञ्जली मार्गमा पोखरेलको भेट शुरुमा एक बृद्धसँग भयो । ९१ वर्षिय बृद्धले जितको शुभकामना दिए । एमाले नेता पोखरेलको चुनावी प्रचारमा बोली स्पष्ट थियो । भेटेका सवैलाई उनी ‘भोट सूर्यमा है’ भन्दै मत मागिरहेका थिए । पोखरेलको अर्को विशेषता महिला मतदाता भेटे भने ‘तपाईंको माइती कहाँ ?’ सोधिहाल्ने ।
काठमाडौ महानगरपालिकाको वडा नम्बर ४ को लागि तय गरिएको घरदैलोमा पोखरेलको ब्यस्तताले प्रसार प्रसारलाई सीमित क्षेत्रमा मात्रै खुम्चाइएको थियो । चुनावी प्रचार टोलीका सदस्यले ‘आयो एमाले’ भन्दै धेरैको ढोका घचघच्याउँथे । अपार्टमेन्ट र हाउजिङको क्षेत्र रहेको उक्त क्षेत्रलाई ‘हुने खानेको थलो’का रुपमा चिनिने रहेछ ।
भित्री क्षेत्रमा मत माग्दै हिँडेको टोलीले भेट फेरि एक वृद्धासँग भयो । प्रचार टोलीका मध्य एकले भने ‘बृद्धभत्ता दिने दललाई भोट दिनपर्यो है ।’
उनले अझ थपे ‘अब पाँच हजार बनाउने हो ।’ वृद्धा खुसी देखिइन् । हुन्छ बावु भन्दै भोटको आश्वासन दिइन् ।
साँघुरो गल्लीबाट भित्र छिरेको प्रचार टोली दुई दृष्टिविहिन दम्पत्ती भएको घरमा पुग्यो । टोलीका एकले भने ‘ईश्वर पोखरेल आउनु भएको छ, भोट सूर्यमा है ।’
दृष्टिविहिन पुरुषले ‘हुन्छ’ भने । पोखरेल विदा भएर हिँड्न लागेका मात्र थिए । दृष्टिविहिन महिलाले भनिन् ‘अपाङ्गता भत्ता पाइएको छैन । भोट पनि दिने किन दिने ?’
पोखरेलले तुरुन्तै बडा अध्यक्षलाई प्रश्न गरे ‘के हो मोहनजी ?
काठमाडांै महानगरपालिका वडा नम्वर ४ मा एमालेबाट जितेका मोहन विष्टले जवाफ दिए–‘अपाङको पनि श्रेणी हुने रहेछ । सोही कारण हो । फेरि आएर आवेदन दिनुस्, म सिफारिस गर्छु ।’
प्रचारको सानो टोली लिएर घरदैलो गरिरहेको टोली दुई महिला भएको घरमा पुग्यो । पोखरेलले ‘बैनी भेट्न आइयो, भोट सूर्यमा है’ भन्दै नमस्ते गरे । महिलाले नेता प्रति गुनासो राख्दै भनिन् ‘तपार्ईंंहरुलाई भेट्न पाइने चुनावको बेलामात्रै त हो ।’
पोखरेलले आइरहने बचन दिए ।
मिटिङमा जानुछ भन्दै हतारिएका पोखरेललाई गिताञ्जली चोकमा भेट भएका स्थानीयले मतको आश्वासन दिए । एक व्यक्तिले ‘शतप्रतिशत तपार्ईंंलाई’ नै भन्दै ढुक्क बनाए ।
घरदैलो सकेर फर्कने हतारोमा रहेका पोखरेललाई एक स्थानीय कार्यकर्ताले डोराएर एक घरको दोश्रो तलामा पुर्र्याए । उक्त घर भारतीय न्यूज च्यानल जीन्यूजका नेपाल सम्वाददाता एन्जिना कार्कीको रहेछ ।
कार्कीले जित सुनिश्चित भएको आशय व्यक्त गरिन् । उनले थपिन् ‘हाम्रो घरमा ८ भोट हो । ढुक्क हुनुस् । ८ ले १६–२० पनि बनाउन सक्छ ।’
महासचिवसँगै खाना खाने आशामा रहेका प्रचार टोलीलाई समय नभएको बताउँदै पोखरेल अझ हतारिए । अर्का कार्यकर्ताले उनलाई एक घरको तेश्रो तलामा पुर्र्याए । प्रौढ दम्पत्ती रहेको घरमा बृद्धले ‘भोट हाल्ने प्रक्रिया थाहा नभएको’ पोखरेललाई बताए ।
एमाले कार्यकर्ताले नमुना मतपत्र वृद्धलाई थमाए ।
चुनावी कामले ब्यस्तता बढेको बताउँदै हतारिएका पोखेरेलसँग दौडधुप र घरदैलोका विषयमा छोटो कुरा गर्न समय पाइएको थियो ।