काठमाडौं, माघ २६—चालु आर्थिक वर्षको ६ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ ।चालु आवको पुससम्म बैंकले ९७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७५ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार बैंकको नाफा, निक्षेप र कर्जा लगानी बढेको छ ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात १ प्रतिशत तल छ ।कर्जा र निक्षेपबीचको ब्याज दर अन्तरल (स्प्रेड) ४.८९ प्रतिशत र कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७६.६० पैसा रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ९३ पैसा छ ।पुससम्म बैंकले ९० अर्ब ४३ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ७६ अर्ब रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकको कर्जा लगानी पनि विस्तार भई ७२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ५५ अर्ब रुपैयाँ थियो ।रियलस्टेटमा ४ अर्ब १३ करोड, सेयर कर्जा १ अर्ब ३६ करोड, टर्म लोन १६ अर्ब ९९ करोड, ओभरड्राफट र चालु पुँजी कर्जामा ३० अर्ब ७९ करोड रुपैयाँ लगानी भएको बैंकले जनाएको छ ।
हालसम्म बैंकको चुक्तापुँजी ४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंकले गत आवमा गरेको नाफाबाट सेयर धनीलाई ७० प्रतिशत बोनस सेयर दिएको छ । आउदो असारसम्म बैंकले ८ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।