सर्लाही, पुस ४ –प्रहरीले सर्लाहीको राजघाटबाट मंगलबार दिउँसो बेवारिसे अवस्थामा सालको तीन थान गोलिया बरामद गरेको छ । बागमती नगरपालिका वडा नम्बर –८ शंकरपुरमा बागमती खोला किनारबाट ६० क्यूफिट बराबरको झण्डै एक लाख २० हजार मूल्यपर्ने तीन थान सालको गोलिया बरामद गरिएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो ।
प्रहरी चौकी राजघाट र रौतहटको चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले काठ बरामद गरेको हो । बरामद गरिएको काठ आवश्यक अनुसन्धानका लागि ईलाका वन कार्यालय चन्द्रनिगाहपुर पठाइएको प्रहरी निरीक्षक कुर्मीले बताउनुभयो । राजघाट प्रहरीले केही दिनअघि पनि बागमती खोलापारिबाट बैलगाढामा ल्याउँदै गरेको अवस्थामा सालको दुई थान गोलिया बरामद गरेको थियो ।
वन कार्यालयबाट नियमित रेखदेख नहुँदा बागमती खोलापारि रौतहटका विभिन्न वनक्षेत्रबाट तस्करहरुले दैनिक काँचो काठ दाउरा तस्करी गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।