पुस २३, २०७४ – मुलुकभर चिसो बढेसँगै उपत्यकामा केही सातादेखि कडा खालका खोकीका बिरामी बढ्न थालेका छन् । हाल देखिएको खोकी सामान्य एन्टीबायोटिकले नछुने र लामो समयसम्म निको नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । दुई साता देखि रुघाखोकीको उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या उच्च रहेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । अन्य दिन करीब १५ जना बिरामी परीक्षणका लागि आउने गरेकोमा हाल बढेर २५ को हाराहारीमा आउने गरेको अस्पताललले जनाएको छ । सामान्यतया खोकी एक हप्तामा निको हुने गरेपनि हाल देखिएको खोकीले २/३ हप्तासम्म सताउने गरेको उहाँको भनाई छ । रुघा सामान्य देखिएपनि खोकी भने कडा खालको देखिएको हो । उपत्यकामा बढ्दै गएको धुलो धुँवाका कारण खोकीका बिरामी बढेको हुन सक्ने डा. पुनको अनुमान छ ।