७ पुस, काभ्रे । वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा २ जनाको ज्यान जानेगरी आगलागी भएपछि ग्यास उद्योग आसपासका स्थानीयहरु त्रसित बन्न पुगेका छन् । यो स्वभाविक हो । तर, यो घटनापछि वीरगञ्जबाट निकै टाढाको दूरीमा रहेको काभ्रेको बनेपामा त्रास फैलिएको छ ।
वीरगञ्जको ग्यास उद्योगमा बुधबार आगलागी भएसँगै यस क्षेत्रका स्थानीय त्यस्तै घटना हुने भयले त्रस्त बनेका हुन् । बनेपा नगरपालिका–१०, थापा गाउँमा ३, बनेपा–२, नालामा एक र बनेपा–१४ भैंसीपाटीमा १ ग्यास उद्याेग मापदण्डविपरीत सञ्चालनमा छन् ।
‘एक किलोमिटरको परिधिमा ४ वटा ग्यास उद्योग रहेका छन्, त्यसमा पनि यत्रो घना बस्तीका विचमा हाम्रो सुरक्षा अब कसरी हुन्छ ?’, नालाका स्थानीय विश्वराम श्रेष्ठले गुनासो गरे । उनले बनेपा १० को थापा गाउँमा ३ वटा ग्यास उद्योग एउटै प्लटमा जोडिएको भए पनि सुरक्षातर्फ कसैले चासो नदिएको भन्दै आक्रोस पोखे ।
बनेपा–१०, थापा गाउँका सुशील थापाले उद्योगीले आफ्नो मात्रै स्वार्थ हेरेर गाउँलेको जीवनमाथि खेलबाड गरेको आरोप लगाए । बनेपा–१० को १ किलोमिटर क्षेत्र वरपर ३ उद्योग मापदण्डविपरीत सञ्चालनमा आइरहेका भए पनि नियमनकारी निकाय गम्भीर नभएको गुनासो उनले गरे ।
बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं वादेले ग्यास उद्योगले बस्ती असुरक्षित बनाएको स्वीकार्दै उद्योगहरुलाई सचेत गराइने बताए । ‘ग्यास उद्योगले गाउँलाई असुरक्षित बनाएकाले हामी चिन्तित छौं’, मेयर वादले भने, ‘केही दिनभित्रै सरोकारवालाहरुसंग छलफल गरेर समाधान खोज्छौं ।’
एलपी ग्यास उद्योग व्यवसायी संघका कोषाध्यक्ष कृष्णभक्त श्रेष्ठ भने काभ्रेका ग्यास उद्योगहरुसँग आगलागी नियन्त्रण गर्ने र त्यसको जोखिम कम गर्ने उपकरण रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको दाबी गर्छन् ।
बनेपा–१० मा सगरमाथा ग्यास उद्योग (सगर ग्यास) , चण्डेश्वरी ग्यास उद्योग (चण्डी ग्यास) सूर्य ग्यास उद्योग (सूर्य ग्यास) सञ्चालनमा छन् । बनेपा–१४ भैंसीपाटीमा हिमाल ग्यास उद्योग (हिमाल ग्यास) र बनेपा–२ नालामा उग्रचण्डी ग्यास उद्योग (लोकप्रिय ग्यास) सञ्चालित छन् । मापदण्डअनुसार ग्यास उद्योगहरु बस्तीबाट १ किलोमिटर टाढाको दूरीमा हुनुपर्छ । तर, बनेपामा सञ्चालित सबै ग्यास उद्योगहरुले सरकारी नियमको धज्जी उडाएका छन् । सञ्चालित ग्यास उद्योगहरुले आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक (फायर फाइटिङ मेसिन), फायर कुलिङ र ‘वाटर कुलिङ्गको व्यवस्था गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको भए पनि योसमेत मानेका छैनन् ।
मापदण्ड मिचेपछि मुद्दा
मापदण्ड मिचेर बनेपामा ग्यास उद्योगहरु सञ्चालनमा आएपछि अदालतमा समेत मुद्दा परेको छ । नालाको उग्रचण्डी ग्यास उद्योग(लोकप्रिय) ग्यासविरुद्ध मापदण्ड मिचेको भन्दै सर्बाेच्चमा मुद्दा परेको हो । यो मुद्दा अहिले विचाराधीन छ ।