एजेन्सी । पाकिस्तानका पुर्व कप्तान तथा विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीले विराट कोहलीले कप्तानी गुण अझै सिक्न आवश्यक रहेको बताएका छन् ।
भारतीय क्रिकेट टोली अहिले अस्ट्रेलिया भ्रमणमा रहेको छ । भारत तीन वान डे, तीन टी ट्वान्टी र चार टेस्टको लागि अस्ट्रेलिया भ्रमणमा रहेको छ । भारतले पहिलो टी ट्वान्टी ४ रनले गुमाउँदा दोस्रो भने वर्षाका कारण अनिर्णित भयो ।
यसैक्रममा एनडीटिभीसँग कुरा गर्दै अफ्रिदिले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘खेलाडीको रुपमा विराट राम्रा खेलाडी हुन् तर कप्तानको रुपमा उनले धेरै सिक्न आवश्यक छ । मेरा लागि विराट भन्दा धोनी नै सर्वोउत्कृष्ट र सफल कप्तान हुन् ।’
यस पटक टी-२० र वान डे टोलीमा विकेट किपर तथा पुर्व कप्तान महेन्द्र सिंह धोनीलाई टोलीमा समावेश गरिएको छैन । ढल्किदो उमेरसँगै खस्किदो प्रर्दशनको कारण धोनीलाई भारतीय टिम छनौटकर्ताले बाहिर राखेका हुन् । टेस्टबाट धोनीले सन्न्यास लिई सकेका छन् ।
बल टेम्परिङ काण्डका कारण स्टिभ स्मिथ र डेविड वार्नर जस्ता मुख्य खेलाडी नहुँदा ४० वर्ष यताकै खराव प्रर्दशन गरि रहेको अस्ट्रेलियासँग पहिलो खेलमा पराजित भएसँगै विराट कोहलीको कप्तानीमाथि प्रश्न उठ्न थालेको छ ।
भारतले तेस्रो तथा अन्तिम टी-२० खेल आइतबार खेल्ने छ । दोस्रो खेल वर्षाको कारण रद्द भएसँगै भारतले अव टी-२० श्रृंखला जित्न सक्ने छैन । अन्तिम खेलमा पराजित भए २-० ले गुमाउने छ ।